विजयको ‘स्टार पावर’ले तोड्यो तमिलनाडुमा दुई पार्टीको प्रभुत्व

बुधबार, ३० बैशाख, २०८३
डिजिटल संस्करण

तमिलनाडुमा ‘अभिनेता–मुख्यमन्त्री’ मोडेल नयाँ होइन । तर, पनि विजयले राज्यका दुई स्थापित पार्टी बाहिरबाट राजनीतिमा प्रवेश गरेर धेरैले असम्भव ठानेको कुरा पूरा गरे ।

उनको पार्टी ‘तमिलनाडु भेट्री  कजगम (टिभीके)’ले यसपटक विधान सभा चुनावमा १०८ सिट जितेर झन्डै ६० वर्षदेखि राज्यमा शासन गरिरहेका डिएमके–एआइएडिएमकेको प्रभुत्व तोडेको छ । सुरुमा ‘तेस्रो शक्ति’का रूपमा हेरिएको टिभिकेले राज्यको पहिलो शक्ति बनेर कमल हसनजस्ता स्टारले प्रयास गरेर असफल भएको क्षेत्रमा सफलता हासिल गरेका छन् । यसका लागि उनले आफ्नो प्रशंसकको आधार (फ्यान बेस)लाई ठुलो स्तरमा मतमा परिणत गरे ।

विजयसँग विगतमा अभिनयबाट राजनीतिमा आएका एमजी रामचन्द्रनजस्तो संगठनात्मक शक्ति थिएन । रामचन्द्रनले एआइएडिएमके स्थापना गर्नुअघि धेरै वर्ष डिएमकेमा बिताएका थिए । त्यस्तै, विजयसँग न कुनै राजनीतिक प्रशिक्षण थियो न कुनै कार्यकर्ता आधार नै । उनीसँग दक्षिण भारतका अन्य राजनीतिज्ञको जस्तो पारिवारिक राजनीतिक सञ्जाल पनि थिएन । यसका बाबजुद उनको बलियो ‘फ्यान फलोइङ’, सत्ताविरोधी भावना, सामाजिक सञ्जालमा युवा अभियान, र भ्रष्टाचार तथा अन्यायविरुद्ध लड्ने मसिहाको रूपमा सावधानीपूर्वक ‘कल्टिभेट’ गरिएको छविले काम गर्यो । यसैको संयुक्त बलमा विजयले पहिलो चुनावी सहभागितामै तमिलनाडुको राजनीतिक परिदृश्यलाई बदलिदिए । थलापति विजय र टिभिकेले तमिलनाडुमा जरा गाडेको दुई पार्टी प्रणाली तोड्ने क्रममा सामाजिक सञ्जालको युगमा एक चर्चित फिल्म स्टारले कसरी आफैँलाई एक शक्तिशाली चुनावी शक्तिमा रूपान्तरण गर्न सकिन्छ भन्ने देखाएका छन् । विजयले आफ्नो र्यालीहरूमा भिड तान्न कहिल्यै संघर्ष गर्नुपरेन । मानिसहरू आफैँ उनलाई हेर्न झुम्मिने गर्थे, उनको स्टार शक्तिले प्रेरित भएर ।

तर, सेप्टेम्बर २७, २०२५ मा करुर क्षेत्रमा भएको एक राजनीतिक र्यालीमा भागदौड हुँदा ४१ जनाको मृत्यु भएपछि टिभिकेका लागि चुनौती खडा भयो । घटनापछि विजय घण्टौँसम्म अदृश्यजस्तै रहे र ढिलो गरी उनले समाजिक सञ्जाल ‘एक्स’मार्फत घटनाप्रति शोक जनाउँदै एक वक्तव्य जारी गरे ।

त्यसपछि, फेब्रुअरी २०२६ मा, विजयकी श्रीमती संगीता सोर्नालिंगमले २७ वर्षलाई तोड्ने गरी सम्बन्धविच्छेदको निवेदन दिइन् । संगीताले विजयमाथि एकजना महिला अभिनेत्रीसँग सम्बन्ध बनाएको, मानसिक यातना दिएको, बेवास्ता गरेको र सन् २०२१ देखि अलग बस्दै आएको आरोप लगाएकी थिइन् । विजयले यसलाई बेवास्ता गरे । मार्चको सुरुमा त्रिशासँग विवाहमा देखापरे । भारतजस्तो परम्परागत समाज, जहाँ विवाहेत्तर सम्बन्ध स्वीकार्य हुँदैन, त्यहाँसमेत फिल्मस्टार विजयलाई उनका प्रशंसकहरूले धेरै हदसम्म माफी दिए र प्रतिरक्षामा उत्रिए । यो स्टार पावरको पछाडि, जहाँ सबै कुरालाई क्षमा गरिन्छ र बिर्सिइन्छ, विजयको राजनीतिक अभियान १५ वर्षअघि आफ्ना फिल्ममार्फत सुरु गरेका थिए ।

विजयले सत्तारूढ डिएमके र प्रतिपक्षी एआइएडिएमकेविरुद्ध आफ्नो अडान स्पष्ट गरेका थिए । उनले टिभिकेलाई डिएमकेको नातावाद र एआइएडिएमके हिन्दुत्व(भाजपासँगको गठबन्धनका कारण)विरुद्धमा उभिएको पार्टीको रूपमा प्रस्तुत गरे । द्रविड राजनीतिको पुरानो प्रणालीसँग मानिसहरूमा गहिरो थकानको भावना थियो । आमयुवा मतदाता पुरानो विचारधाराप्रति बढ्दो रूपमा विरक्त देखिन थालेको समय थियो । विजयको आफ्नै बलमा अघि बढ्ने छविको राज्यमा महŒवपूर्ण प्रभाव पर्यो । लामो समयदेखि परिवारमा आधारित राजनीतिले प्रभुत्व जमाएको तमिलनाडुमा यस्तो प्रतीकत्मक महŒव रहन्छ । फिल्मी करिअरको शिखरमा भएको समयमा राजनीतिमा प्रवेशले पनि सकारात्मक प्रभाव पार्यो । मानिसहरूले उनलाई जनताको सेवा गर्न आफ्नो सफल फिल्म करिअर त्याग्ने व्यक्तिको रूपमा हेरे । विक्रवाडी सम्मेलनमा बोल्ने क्रममा विजयले यसैतर्फ संकेत पनि गरेका थिए, ‘मैले तपाईंका लागि मेरो करिअर त्यागेँ । यहाँ पुग्न धेरै संघर्ष पार गरेँ । म तपाईंहरूको विश्वास पाएर तपार्इंहरूकै विजयको रूपमा यहाँ उभिएको छु ।’

विजयप्रति आम तमिल जनताको प्रेम गहिरो देखिन्छ । समर्थकहरूले उनलाई स्वच्छ छवि भएको, वंशवादी राजनीतिबाट टाढा रहेको र जनताप्रति साँच्चै समर्पित भएको मान्छन् । टिभिकेको एक र्यालीमा इरोडकी निवासी सरोजाले भनेको यस कुराले पति त्यसैतर्फ संकेत गर्छ, ‘उनी मेरो छोराजस्तै हुन् । उनले करोडौँको कमाइ छाडेर यदि हाम्रा लागि र जनताको सेवा गर्न आएका छन् भने उनलाई समर्थन गर्नु हाम्रो नैतिक कर्तव्य हो ।’

डिएमके र एआइएडिएमके दुवैले विजयलाई सुरुमा हल्का रूपमा लिए । तिनले टिभिकेलाई अस्थायी सेलिब्रेटी क्रेजको फाइदा भएको भन्दै बेवास्ता गरे । ती दलले टिभिकेका समर्थकहरूलाई ‘थरर्करी’ अर्थात् अनपढसम्म भने । तिनले फ्यानको भोट मात्रैले कोही स्थापित राजनीतिज्ञ बन्न सक्छ भन्ने प्रश्न गरे र विजयको कार्यकर्ता नरहेको कुरामा जोड दिए । यही बुझाइ उनीहरूको सबैभन्दा ठुलो गल्ती साबित भयो । टिभिकेले उत्तर र पश्चिम तमिलनाडुको परम्परागत गढ तोड्यो । त्यहाँका मतदाताहरूले स्थानीय टिभिकेका उम्मेदवारलाई राम्ररी नचिनेकाले विजयलाई मत दिए ।

इन्टरनेट चलाउँदै हुर्किएको १८ देखि ३५ वर्ष उमेर समूहका युवाले चुनावको अन्तिम चरणमा मिम्स, रिल र प्रभावकारी पोस्टमार्फत ‘विजय भ्रष्ट र नातावादी प्रणाली’विरुद्ध खडा भएको भाष्य विस्तार गरे । यो सजिलो र सहजै आमजनताले बुझ्ने र सेयर हुने शैली नयाँ राजनीतिक संस्कृतिको पहिचान बन्यो । टिभिकेले मत हाल्न नसक्ने किशोर–किशोरीलाई आफ्ना घरपरिवारलाई विजयलाई जिताउन आह्वान गरेको थियो । विजयका मुख्य फ्यान बेस रहेका युवायुवतीले यसलाई अभियानकै रूप दिए ।  टिभिकेले युवाहरूलाई रोजगारी, सुशासन र युवाकेन्द्रित राजनीतिको वाचाका साथ राजनीतिमा जोड्यो । पार्टीले पुराना दललाई पुरानो राजनीति धारका रूपमा खारेज गर्दै आफू तमिल गौरव र विभाजनकारी राजनीतिविरुद्ध उभिएको बतायो । 

द प्रिन्टबाट

लेखिका भूराजनीति र दक्षिण एसियाली राजनीतिमाथि कलम चलाउँछिन् । 

सुझावित समाचार