कांग्रेसमा विवाद चर्कियो : विमलेन्द्र निधि समूह १५औँ महाधिवेशन तयारीमा सक्रिय

मंगलबार, २९ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद फेरि उत्कर्षमा पुगेको छ । विवाद समाधानका लागि संस्थापन पक्ष तथा सभापति गगन थापाले विशेष महाधिवेशनमा सहभागी १९ जनालाई केन्द्रीय समितिमा समावेश गरे पनि इतर समूहले समानान्तर गतिविधि अघि बढाएको छ ।

विशेष महाधिवेशनको कडा विरोध गर्दै आएका कांग्रेस नेता विमलेन्द्र निधिले आफ्नो समूह १५औँ महाधिवेशनको तयारीमा देशभर सक्रिय भइसकेको बताएका छन्। प्रदेशस्तरमा जिम्मेवारी बाँडफाँटको कामसमेत सुरु भएको उनले जानकारी दिए।

मंगलबार जनकपुरधाम पुगेका नेता निधिले सञ्चारकर्मीसँग कुरा गर्दै १५औँ महाधिवेशनको तयारीस्वरूप कोशी प्रदेशमा आफ्ना समूहको छलफल तथा भेला भइरहेको जानकारी दिए। पार्टीको १५औँ महाधिवेशनको तयारीस्वरूप काठमाडौंमा छुट्टै पार्टी कार्यालय सञ्चालनका लागि घर खोजी भइरहेकोसमेत उनले खुलासा गरे।

उनले भने, पार्टी फुटाउने उद्देश्यले नै विशेष महाधिवेशन गरिएको हो। अन्यथा, अहिलेसम्म विशेष महाधिवेशन पक्षधर समूहले हामीसँग कुनै औपचारिक संवाद गरेको छैन।

निधिका अनुसार मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्य आनन्द ढुंगानालाई समन्वयको जिम्मेवारी दिइएको छ भने अन्य प्रदेशमा पनि क्रमशः भेला तथा परामर्श कार्यक्रम सञ्चालन गरिनेछ।

उनले पूर्णबहादुर खड्का, शेखर कोइराला, गगन थापा र विश्वप्रकाश शर्माबिच सामान्य शिष्टाचार भेटघाट भएको स्वीकार गरे। तर, उक्त भेटमा ठोस प्रस्ताव आउने अपेक्षा गरिए पनि लामो समयसम्म कुनै निष्कर्ष ननिस्किएको उनले बताए। 'अब धेरै समय पर्खिने अवस्था छैन। त्यसैले सातै प्रदेशमा आफ्ना नेता तथा कार्यकर्तासँग भेटघाट र आगामी रणनीतिबारे छलफल सुरु गरेका छौँ,' उनले भने।

संस्थापन पक्षले इतरसमूहसँग समन्वय र सहकार्य नगरे पार्टीभित्रको आन्तरिक द्वन्द्व अन्त्य नहुने उनको भनाइ थियो ।

नेता निधिले विशेष महाधिवेशन विधिसम्मत नभएको दाबी पनि गरे। 'विशेष महाधिवेशनमा पार्टीका करिब ५५/५६ प्रतिशत प्रतिनिधिको सहभागिता थिएन। स्वयं विशेष महाधिवेशन पक्षधरले पनि ५४ प्रतिशत मात्र सहभागिता भएको बताइरहेका छन्। यस्तो अवस्थामा ४६ प्रतिशत प्रतिनिधिलाई बेवास्ता गरेर गरिएको महाधिवेशन कसरी वैधानिक र विधिसम्मत हुन्छ ?' उनले प्रश्न गरे।

पार्टीका पूर्वउपसभापतिसमेत रहेका निधिले क्रियाशील सदस्यता नवीकरण प्रक्रियामाथि पनि प्रश्न उठाए। विशेष महाधिवेशनअघि नै सदस्यता नवीकरण सम्पन्न भइसकेको अवस्थामा पुनः नवीकरण गर्नु उपयुक्त नभएको उनले जिकिर गरे। १५औँ महाधिवेशनमा धाँधली गर्ने उद्देश्यले पुनः सदस्यता नवीकरण प्रक्रिया अघि बढाइएको उनले गम्भीर आरोप लगाए ।

विशेष महाधिवेशन पक्षधर र १४औँ महाधिवेशन पक्षधरबिच अझै सहमतिको वातावरण नबनेको उल्लेख गर्दै उनले दुवै पक्षका कार्यसमितिलाई संयुक्त रूपमा अघि बढाएर १५औँ महाधिवेशनको तयारी गर्नुपर्नेमा जोड दिए।

सुझावित समाचार