एक सातादेखि राष्ट्रिय परिचय पत्रसम्बन्धी सेवा अवरुद्ध

मंगलबार, २९ बैशाख, २०८३
डिजिटल संस्करण

एक सातादेखि राष्ट्रिय परिचय-पत्रसम्बन्धी सेवा अवरुद्ध बनेको छ। वैशाख २१ गतेदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा समस्या आएपछि राष्ट्रिय परिचय-पत्रसम्बन्धी सेवा अवरुद्ध बनेको हो। सूचना प्रणालीमा देखिएको समस्याका कारण वैशाख २१ र २२ गते आउने–जाने गरे पनि २३ गतेबाट भने सेवा पूर्ण रूपमा ठप्प बनेको हो।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचय-पत्रसम्बन्धी सेवा अवरुद्ध रहेको सूचना प्रकाशित गर्दै सेवामा समस्या आएको जानकारी दिएको हो।

सूचना प्रणालीमा समस्या भएपछि देशैभर राष्ट्रिय परिचय-पत्रसम्बन्धी सेवाहरू प्रभावित बनेका छन्। राष्ट्रिय परिचयपत्र विवरण सच्याउने सेवा, जन्मदर्ता गर्दा राष्ट्रिय परिचय नम्बर प्राप्त हुने सेवा, सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्दा बायोमेट्रिक रुजु हुने सेवा तथा राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग अन्तरआबद्ध भएका अन्य सार्वजनिक सेवाहरूसमेत अवरुद्ध बनेका छन्।

सूचना प्रणालीमा समस्या भएपछि बनेर आएका कार्डहरू वितरणबाहेकका अन्य सेवाहरू ठप्प रहेका छन्। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार धादिङमा मात्रै करिब ८० हजारभन्दा बढी कार्ड वितरण गर्न बाँकी रहेको छ।

राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा आएको समस्याको मर्मत कार्य भइरहेको जनाइएको छ।

सुझावित समाचार