कामना सेवा विकास बैंक लिमिटेडले वित्तीय साक्षरता तथा हस्ताक्षर तालिम कार्यक्रम सम्पन्न गरेको छ । बैंकले समावेशी बैंकिङलाई प्रवर्द्धन गर्दै दृष्टिविहीन व्यक्तिमा बैंकिङ पहुँचसँग पुर्याउने उद्देश्यसहित कार्यक्रम गरेको जनाएको छ । बैंकले सर्वोदय परियोजनासँगको सहकार्यमा दुईदिने कार्यशाला गोष्ठी आयोजना गरिएको जनाइएको छ ।
कार्यक्रममा बैंकका ब्रान्डिङ तथा सिएसआर प्रमुख सुशील पौडेलले बचतको महत्व, व्यक्तिगत बजेट निर्माण, पारिवारिक बजेट निर्माण, आर्थिक अनुशासन, आर्थिक लक्ष्य, भविष्यका लगानीका अवसर, डिजिटल कारोबार, डिजिटल ठगीलगायतका विषयमा वित्तीय साक्षरता प्रदान गरेका थिए । बैंकिङ कारोबारका क्रममा आवश्यक पर्ने हस्ताक्षरसम्बन्धी व्यावहारिक अभ्यास गराउँदै सहभागीलाई आत्मविश्वासी बनाउने प्रयास गरिएको बैंकले जनाएको छ । उक्त तालिमले दृष्टिविहीन व्यक्तिहरूलाई बैंकिङ प्रक्रिया सहज रूपमा प्रयोग गर्न थप सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
कार्यक्रममा ४० जना दृष्टिविहीनको सहभागिता थियो । बैंकले आगामी दिनहरूमा पनि समावेशी बैंकिङलाई प्रवर्द्धन गर्दै विभिन्न समुदायलक्षित वित्तीय सचेतना तथा सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ । सर्वोदय परियोजनाका अध्यक्ष युवराज वाग्लेले वित्तीय साक्षरता कार्यक्रम उपयोगी र प्रभावकारी रहेको बताए । कामना सेवा विकास बैंकले दृष्टिविहीनलाई लक्षित गरी ‘स्वाभिमान बचत खाता’ सञ्चालनमा ल्याएको छ । उक्त खाता खोल्ने दृष्टिविहीनले अन्य व्यक्तिले जस्तै मोबाइल बैंकिङ, एटिएम कार्डलगायतका सुविधा प्रयोग गर्न सक्ने बताइएको छ ।