पर्सा राष्ट्रिय निकुञ्जको प्रस्ताव : पथलैया–अमलेखगन्ज सडकमा दुई ओभरपास निर्माण गर्न आग्रह

मंगलबार, २९ बैशाख, २०८३
डिजिटल संस्करण

पर्सा राष्ट्रिय निकुञ्जले त्रिभुवन राजपथअन्तर्गत पथलैया–अमलेखगन्ज सडक विस्तारका क्रममा वन्यजन्तुको सुरक्षालाई ध्यानमा राख्दै आठ किलोमिटर क्षेत्रमा दुईवटा ‘ओभरपास’ निर्माण गर्न सडक विभागसँग प्रस्ताव गरेको छ। निकुञ्जले उक्त सडकखण्डमा सवारीसाधनको चाप अत्यधिक रहेको र वन्यजन्तु वारपार गर्ने प्राकृतिक मार्ग अवरुद्ध हुँदा दुर्घटनाको जोखिम बढेकाले ओभरपास निर्माण आवश्यक रहेको जनाएको हो।

पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतले निकुञ्ज क्षेत्र अतिसंवेदनशील भएकाले सडक विस्तारका क्रममा वन्यजन्तुमैत्री संरचना निर्माण गर्न विशेष ध्यान दिनुपर्ने बताए। उनले भने, ‘सवारीसाधनको ठक्करबाट राजमार्गमा दुई दर्जनभन्दा बढी वन्यजन्तुको मृत्यु भइसकेको छ। निकुञ्जको कोर एरिया पर्ने आठ किलोमिटर क्षेत्रमा ओभरपास निर्माण गर्न सके दुर्घटनाबाट हुने क्षति केही न्यूनीकरण गर्न सकिन्छ।’

अमलेखगन्ज–पथलैया सडकखण्डमा बेलाबखत हात्तीले सवारीसाधन लखेट्ने तथा मानव–वन्यजन्तु द्वन्द्वसमेत हुने गरेको निकुञ्जले जनाएको छ। चालू आर्थिक वर्षको चैत मसान्तसम्म सवारी दुर्घटनामा परेर एउटा चितुवाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको छ। निकुञ्जका अनुसार उक्त सडकखण्डमा हालसम्म सवारी दुर्घटनाबाट दुईवटा जरायो, पाँचवटा चित्तल र १५ वटा बाँदरको मृत्यु भएको छ। साथै प्राकृतिक कारणले अन्य तीनवटा वन्यजन्तुको मृत्यु भएको निकुञ्जले जनाएको छ।

सूचना अधिकारी भगतका अनुसार वन्यजन्तुलाई सवारी दुर्घटनाबाट जोगाउन ट्राफिक सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन भइरहेको छ। उनले चालकहरूलाई थप सचेत बनाउन सम्बन्धित सबै निकायबिच समन्वय आवश्यक रहेको बताए। यसैबिच, सडक डिभिजन हेटौँडाका इन्जिनियर भोलाप्रसाद साहले निकुञ्ज क्षेत्रभित्र ओभरपास निर्माण गर्नुपर्ने सुझाव प्राप्त भएकाले त्यससम्बन्धी प्रस्ताव सडक विभागमा पठाइएको जानकारी दिए।
 

सुझावित समाचार