अमेरिका र स्कटल्यान्डसँग नेपालको सिरिज आजदेखि

त्रिवि क्रिकेट मैदानमा हुने आइसिसी विश्वकप क्रिकेट लिग २ मा आज नेपालले स्कटल्यान्डको सामना गर्दै

मंगलबार, २९ बैशाख, २०८३
डिजिटल संस्करण
अमेरिका र स्कटल्यान्डसँग नेपालको सिरिज आजदेखि

अमेरिकासँगको अभ्यास खेलमा सोमबार सात रनको रोमाञ्चक जित निकालेपछि नेपालको ‘ए’ टोली

आइसिसी एकदिवसीय विश्वकप लिग २ को त्रिकोणात्मक शृंखलामा मंगलबार कीर्तिपुर क्रिकेट मैदानमा सुरु हुँदै छ । सिरिजमा आयोजक नेपालसँगै अमेरिका र स्कटल्यान्ड रहेका छन् । एकदिवसीय मान्यता जोगाउन संघर्ष गरिरहेको नेपालका लागि यो शृंखला निकै कठिन मानिएको छ । अमेरिका तालिकाको शीर्ष स्थानमा छ।

स्कटल्यान्ड दोस्रो स्थानमा छ । अमेरिका र स्कटल्यान्डले विश्वकपको बाटो बनाइरहँदा नेपाल भने आगामी चार वर्षका लागि एकदिवसीय मान्यता जोगाउन संघर्ष गरिरहेको छ ।

नेपालले पहिलो खेलमै स्कटल्यान्डसँग खेल्दै छ । डेढ साताअघि यसै सिरिजमा नेपाल लगातार चारमध्ये तीन खेलमा जित निकालेको थियो । अमेरिका र स्कटल्यान्डजस्तो बलियो प्रतिद्वन्द्वीविरुद्ध भिड्दै नेपाल एकदिवसीय मान्यता जोगाउने तयारीमा छ ।

नेपाली टोली पछिल्लो समय निकालेको नतिजाका कारण हौसिएको छ । नेपालले गत सिरिजमा युएईलाई र ओमानलाई एक खेलमा हराएको थियो । नेपालका अलराउन्डर गुल्सन झाले शीर्ष दुई स्थानमा रहेका टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् । ‘हामीले जुन लयमा युएई र ओमानविरुद्ध खेल्यौँ । त्यो लय कायम राखेर अमेरिका र स्कटल्यान्डसँग खेल्छौँ ।’

नेपाल ‘ए’ टोलीले मुलपानी माथिल्लो मैदानमा अमेरिका र स्कटल्यान्डको अभ्यास खेलमा अपराजित नतिजा निकाल्यो । नेपालको ‘ए’ टोलीको कप्तानी अनिलकुमार शाहले गरेका थिए । अमेरिका र स्कटल्यान्डको प्रतिस्पर्धामा मुख्य प्रशिक्षक स्टुवार्ट लले सिनियर खेलाडीलाई विश्राम दिएका थिए । नेपाल ‘ए’बाट सन्दीप जोरा र ईशान पाण्डेले शतक बनाएका थिए । यही प्रदर्शनपछि ईशान पाण्डे सिनियर टिममा पनि स्थान बनाउन सफल भएका छन् । सिनियर खेलाडी पनि नेपालको ‘ए’ टोलीकै जस्तो प्रदर्शन गर्ने दबाबमा छ । कमजोर प्रदर्शनले अर्को शृंखलामा आफ्नो स्थान बनाउन मुस्किल पर्ने उनीहरूमाथि दबाब छ । त्यसैले पनि यो शृंखलामा उत्कृष्ट प्रदर्शन गर्ने अवस्थामा खेलाडी छन् ।

नेपाली टोलीका सहायक प्रशिक्षक वसन्त शाहीले खेलाडीहरूका लागि चुनौती हुने, तर अवसर पनि रहेको बताएका छन् । अमेरिका पछिल्लो समय निकै लयमा छ । नेपालका पूर्वप्रशिक्षक पुवुदु दासानायके अमेरिकाको प्रशिक्षक छन् । उनी लगातार उत्कृष्ट नतिजा निकाल्न सफल भएका हुन् । अमेरिका २४ खेलमा ३६ अंक जोडेर शीर्षस्थानमा छ । स्कटल्यान्ड २८ खेलमा ३४ अंकका साथ दोस्रोमा छ । यता, नेपालले भने २४ खेलमा १८ अंक मात्र जोडेर सातौँ स्थानमा छ । नेपालभन्दा माथि क्यानडा, नामिबिया, नेदरल्यान्ड्स, ओमान छन् । नेपालभन्दा मुनि मात्र युएई रहेको छ ।

हेड टु हेडमा अमेरिका अघि स्कटल्यान्ड पछि 
नेपाल र अमेरिकाबिच हेड टु हेडमा अमेरिका नै बलियो रहेको छ । ११ खेल हुँदा ४ खेल नेपालले जित र ६ खेलमा हार नतिजा निकालेको छ । उनीहरूबिच एक खेल टाई भएको छ । यद्यपि, नेपालले त्रिवि मैदानमा खेलेको दुई खेल भने जितेको छ । त्यसैले पनि नेपाली टिम घरेलु मैदानमा उच्च मनोबलका साथ खेल्दै छ । यता, स्कटल्यान्ड भने नेपालसँग हेड टु हेडमा पछि छ । खेलको ९ खेलमा नेपालले ५ खेल जित्दा ४ खेलमा पराजित भएको छ । नेपालले स्कटल्यान्डसँग पनि घरेलु मैदानमा भएका दुवै खेल जितेको छ ।

See More On

सुझावित समाचार