मधेश प्रदेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

सोमबार, २८ बैशाख, २०८३
डिजिटल संस्करण

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दोस्रोपटक विश्वासको मत लिने भएका छन् । 

सोमबार बसेको मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले १  जेठ शुक्रबार विश्वासको मत लिने निर्णय गरेको हो ।
मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् बैठकले विश्वासको मत, आगामी नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न प्रदेश सभा बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णयसमेत गरेको जानकारी दिए।

मधेश प्रदेशमा पाँचदलीय गठबन्धनको सरकार सञ्चालन भइरहेका बेला सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । जनमत पार्टीले गत वैशाख २२ गते सरकारप्रतिको समर्थन फिर्ता लिएको थियो।

१०७ सदस्यीय मधेश प्रदेश सभामा हाल १०० जना प्रदेश सभा सदस्य कायम रहेका छन् । वर्तमान सत्तागठबन्धनमा रहेका नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका सभामुखबाहेक १७, नेपाली कम्युनिस्ट पार्टी (एमाले) का १४ तथा लोकतान्त्रिक समाजवादी पार्टीका ८ जना प्रदेश सभा सदस्य रहेका छन् ।

सरकारको लागि ५४ मत आवश्यक रहेकामा हाल मुख्यमन्त्री यादवलाई ६१ जना सांसदको समर्थन रहेको छ ।
आइतबार बसेको सत्तागठबन्धनका चार दल (कांग्रेस, जसपा, लोसपा र नेकपा )दलको बैठकले वर्तमान सरकारलाई दिएको समर्थन कायम रहने सहमति गरेका थिए ।

सुझावित समाचार