खाँदबारी–किमाथांका सडक : सेनाले चट्टान फोरेर सडक कार्यालयलाई गर्‍यो हस्तान्तरण

सोमबार, २८ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाली सेनाले त्रिदेशीय लिंकको रुपमा रहेको जोगमुनी–खाँदबारी–किमाथांका सडकखण्डअन्र्तगत च्याम्ताङदेखि घोङगप्पासम्मको १०.८१ किमी सडकको चट्टान फोडेर उत्तरदक्षिण कोशी सडक कार्यालयलाई हस्तान्तरण गरेको छ।

सोमबार सदरमुकाम खाँदबारीस्थित इन्द्र दल गुल्ममा एक कार्यक्रमबीच उत्तरदक्षिण कोशी सडक कार्यालय प्रमुख रामबहादुर गुरुङलाई सेनाका प्रमुख सेनानी शम्शेरबहादुर सिंहले औपचारिक रुपमा हस्तान्तरण गरेका हुन्।

उत्तरदक्षिण कोशी सडक कार्यालय प्रमुख गुरुङले नेपाली सेनालाई दिएको जिम्मेवारीअनुसार काम सम्पन्न गरी औपचारिक रुपमा सडक कार्यालयलाई हस्तान्तरण गरेको बताए। ०७७ माघ २५ गते खाँदबारी–किमाथांका सडक खण्डको सबैभन्दा अप्ठ्यारो र चट्टान भएको ठाउँ च्याम्ताङदेखि घोङघोप्पासम्म ट्रयाक खोल्न सेनालाई जिम्मा दिइएको थियो। 

‘सेनालाई त्यति बेला दुई ठाउँको चट्टान फोड्ने जिम्मेवारी दिइएको थियो। अझै थप एक ठाउँमा चट्टान फोड्न नसकिने अवस्था छ, त्यो पनि सेनालाई दिनुपर्छ भनेर फाइल रक्षा मन्त्रालय हुँदै अघि बढेको छ,’ कार्यालय प्रमुख गुरुङले भने।

च्याम्ताङदेखि घोङघोप्पा क्षेत्रको चट्टान फोडेसँगै केही ठाउँमा स्तरोन्नती गरेपछि सजिलैसँग खाँदबारीदेखि किमाथांकासम्म यातायातको साधान चल्न सक्ने उत्तरदक्षिण कोसी सडक कार्यालयले जनाएको छ। कडा चट्टान र भौगोलिक विकटता भएका कारण सेनाले हेलिकोप्टरमार्फत निर्माण सामग्री ढुवानी गरेर सडक निर्माणको काम गरेको थियो। कडा चट्टान फोर्न विस्फोटक पदार्थ आवश्यक पर्ने भएकाले २०७६ भदौ २२ गतेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनालाई सडक निर्माणको जिम्मेवारी दिएको थियो।

त्रिदेशीय लिंक भारत–नेपाल–चीन जोडने सबैभन्दा छोटो ३९० किमी र मानवबस्ती भएको बाह्रै महिना चल्न सक्ने राजमार्ग हो। खाँदबारी–किमाथांका सडक (१६२ किमि मध्ये १०.८१ किमि)मा सेनाले ट्रयाक खोलेर स्तरोन्नती गरिएको हो। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सो सडकले संखुवासभाको उत्तरी क्षेत्रलाई जोड्छ। खाँदबारी–किमाथांका सडकखण्डको गत २०८१ माघ १४ गते ‘ब्रेक थ्रु’ समेत भइसकेको छ। अब खाँदबारी देखि किमाथांकासम्म बाह्रै महिना सजिलैसँग यातायात जोड्न लागि परेको सडक कार्यालयले जनाएको छ। 

सुझावित समाचार