लुम्बिनी विकास कोषले कर्मचारीलाई नियमित तलब खुवाउन समस्या भएको अवस्थामा मायादेवी मन्दिर प्रवेश शुल्क ७५ प्रतिशतसम्म वृद्धि गरेको छ। नयाँ शुल्कदर लागू भएपछि विशेषगरी विदेशी पर्यटक प्रत्यक्ष प्रभावित भएका छन्। पर्यटन व्यवसायीहरूले विदेशी पर्यटकले होटेलमा बस्दा खर्च हुने रकमबराबरकै शुल्क मन्दिर प्रवेशमा तिर्नुपर्ने अवस्था सिर्जना भएको गुनासो गरेका छन्।
यसअघि मायादेवी मन्दिर प्रवेशका लागि रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाका नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था थियो। अन्य नेपाली नागरिकका लागि २० रुपैयाँ तथा विद्यार्थीका लागि १० रुपैयाँ शुल्क कायम गरिएको थियो।
भारतीय नागरिकका लागि यसअघि ४० रुपैयाँ शुल्क लाग्ने व्यवस्था रहेकोमा अहिले ५० रुपैयाँ पुर्याइएको छ। त्यसैगरी, सार्क राष्ट्रका पर्यटकका लागि चार सय रुपैयाँ रहेको शुल्क ७५ प्रतिशतले वृद्धि गरी सात सय रुपैयाँ कायम गरिएको छ। तेस्रो मुलुकका पर्यटकका लागि यसअघि सात सय रुपैयाँ रहेको शुल्क बढाएर एक हजार रुपैयाँ पुर्याइएको लुम्बिनी विकास कोषले जनाएको छ।
ज्ञानिन राईका अनुसार बढाइएको नयाँ शुल्क वैशाख १ गतेदेखि लागू गरिएको हो। तत्कालीन सरकारले नियुक्त गरेका सदस्यसचिव दीपक श्रेष्ठ लुम्बिनी आएपछि यो व्यवस्था लागू गरिएको कोषले जनाएको छ।
कोषका केही कर्मचारीका अनुसार धार्मिक स्थलमा प्रवेश शुल्क लिनु नहुने विषय उठिरहेकै वेला तत्कालीन सदस्यसचिव श्रेष्ठले शुल्कमा ७५ प्रतिशतसम्म वृद्धि गरेका हुन्।
कार्यवाहक सदस्यसचिव राईले भने, ‘म शुल्क वृद्धि गर्ने निर्णय भएको बैठकमा सहभागी थिइनँ। तर, वैशाख १ गतेदेखि नयाँ शुल्क लागू भएको जानकारी पाएको छु ।’
लुम्बिनीमा भारतसहित तेस्रो मुलुकका गरी ११२ देशका पर्यटकहरूले मायादेवी मन्दिर दर्शन गर्ने गरेकाे तथ्यांक रहेको छ। तेस्रो मुलुकका एक लाखभन्दा बढी पर्यटकले वार्षिक रूपमा लुम्बिनी भ्रमण गर्ने अनुमान गरिएको छ। प्रतिपर्यटक तीन सय रुपैयाँ शुल्क वृद्धि हुँदा करिब तीन करोड रुपैयाँ अतिरिक्त राजस्व संकलन हुने कोषको अनुमान छ।
त्यसैगरी, वार्षिक रूपमा तीन लाखभन्दा बढी भारतीय पर्यटकले लुम्बिनी भ्रमण गर्ने तथ्यांक रहेको छ। भारतीय पर्यटकबाट मात्रै करिब ४८ लाख रुपैयाँ अतिरिक्त शुल्क संकलन गर्ने लक्ष्य राखिएको कोषले जनाएको छ।
शुल्क वृद्धि गर्ने निर्णयको निजी पर्यटन क्षेत्रले विरोध गरेको छ। पर्यटन व्यवसायी किशोर जोशीले कर्मचारीलाई तलब खुवाउन समस्या भएको भन्दै मन्दिर प्रवेश शुल्क बढाउनु गलत भएको बताए। उनका अनुसार आन्तरिक आम्दानीका अन्य स्रोत खोज्नुपर्नेमा धार्मिक तथा पर्यटनस्थलमा शुल्क वृद्धि गर्नु उपयुक्त कदम होइन।
लुम्बिनी विकास कोषले पछिल्ला केही महिनादेखि कर्मचारीलाई नियमित रूपमा तलब वितरण गर्न नसकेको स्रोतले जनाएको छ।