फिल्म स्टारबाट राजनीतिज्ञ बनेका सी जोसेफ विजय थलापतिले भारतीय राज्य तमिलनाडुको नयाँ मुख्यमन्त्रीको रूपमा शपथ लिएका छन् । आइतबार एक समारोहबिच राज्यको राजधानी चेन्नईको जवाहरलाल नेहरू रंगशालामा उनले शपथ लिएका हुन् । शपथसँगै राज्यमा राजनीतिक अनिश्चितता समाप्त भएको छ । ५१ वर्षीय विजयको नवगठित पार्टी तमिलगा वेत्री कझगम (टिभिके)ले गत साताको मतगणनामा १०८ सिट जितेको थियो । परिणामस्वरूप २३४ सदस्यीय विधान सभामा उनी बहुमतबाट १० सिट टाढा थिए ।
सरकार गठनका लागि सामान्य बहुमत जुटाउन ११८ सिट आवश्यक पर्छ । विजयलाई पाँच सिट रहेको कंग्रेससहित अन्य चार साना दलहरूको समर्थन रहेको छ । सिपिआई, सिपिआई–एम, भिसिके र आइयुएमएलले पनि समर्थन जनाएका हुन् । यी पार्टीको दुई–दुई गरी कुल आठ सिट रहेको छ । टिभिकेलाई अब विधान सभामा १२० सांसदको समर्थन छ ।कडा सुरक्षाबिच शपथ समारोह आयोजना गरिएको थियो । समारोहमा कंग्रेस वरिष्ठ नेता राहुल गान्धीसहित विभिन्न दलका विशिष्ट नेताहरूको उपस्थिति थियो । समारोहमा फिल्मी क्षेत्रका दिग्गज व्यक्तित्व र उद्योगपतिहरूको पनि उपस्थिति थियो ।
यसैबिच, मुख्यमन्त्री बनेलगत्तै विजयले तीनवटा आदेशमा हस्ताक्षर गरेका छन् । ती आदेशमा प्रत्येक घरलाई २०० युनिटसम्म निःशुल्क बिजुली उपलब्ध गराउने, दुर्व्यसनीविरुद्ध कारबाही र महिलाको सुरक्षाका लागि विशेष टास्क फोर्स गठन रहेका छन् । यसैबिच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विजयलाई सफल कार्यकालको शुभकामना दिएका छन् ।
‘थलापति’ विजय (कमान्डर विजय) को नामले परिचित अभिनेताले ६९ चलचित्रमा अभिनय गरिसकेका छन् र उनी भारतका सबैभन्दा धेरै पारिश्रमिक लिने स्टारमध्ये एक हुन् । राजनीतिमा उनको सानदार उदयलाई एमजी रामचन्द्रनसँग तुलना गरिएको छ, जसले १९७७ मा आफ्नै पार्टी बनाए र मुख्यमन्त्री बने । तमिलनाडुका युवा र महिलामाझ विजयको अत्यधिक लोकप्रियता छ र उनको जितले प्रशंसक र समर्थकलाई खुसी बनाएको छ । उनको पार्टीका नेताहरू र उनीहरूका सहयोगीले विजयलाई सरकार गठनका लागि राज्यपालले आमन्त्रित गर्न अस्वीकार गरेकोमा आलोचना गरेका थिए ।