रास्वपा सांसदहरूको प्रशिक्षणमा रवि लामिछाने : संविधानअनुसार नै प्रधानन्यायाधीश सिफारिस गरिएको हो, विधिबाहिर गएका छैनौँ

सोमबार, २८ बैशाख, २०८३
डिजिटल संस्करण

चुनौतीपूर्ण ढंगका अभिव्यक्ति दिएर के लाभ हुन्छ र ? यो त जगहँसाइ मात्र हुन्छ । हामी यस्तो जगहँसाइमा विश्वास गर्दैनौँ । हामीलाई अझै पनि विश्वास छ । मेरो कुरा गर्नुहुन्छ भने मेरो त गर्धन अझै त्यहीँ छ । हुन्छ, त्यस्तो रिस उठेको छ भने चलाइदिनुस् हतियार । त्यहीँ बुझाएर आएको छु मैले गर्धन । म यहीँ छु, त्यहीँ छ मेरो गर्धन । होइन भने न्यायालयको गरिमा, प्रतिष्ठालाई सडकको विषय बनाउनुहुँदैन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधानअनुसार नै प्रधानन्यायाधीश सिफारिस गरिएको र विधिबाहिर नगएको बताएका छन् । रास्वपा सांसदका लागि आयोजित दुईदिने प्रशिक्षण कार्यक्रममा उनले पुराना दलहरूले बनाएको संविधान कार्यान्वयन गरेर प्रधानन्यायाधीश सिफारिस गरेको बताए । ‘संविधान बन्दा रास्वपाको उपस्थिति थिएन । संविधान बनेर अभ्यासमा गइसकेपछि राजनीतिक रूपमा रास्वपा उदय भएको हो,’ उनले भने । 

संवैधानिक परिषद् र प्रधानन्यायाधीश नियुक्ति सिफारिसको विषयमा मूर्धन्य मानिस र विभिन्न दलहरूले समेत ‘असंवैधानिक भयो, परम्पराबाहिर गयो’ भनेको सुनिएको भन्दै लामिछानेले असन्तुष्टि जनाए । ‘मलाई एकजना कसैले भन्दिनुस्, कसरी असंवैधानिक भयो ? असंवैधानिक भए ६ जना न्यायाधीशलाई प्रधानन्यायाधीश बन्न सक्ने योग्य मानिस भनेर संवैधानिक परिषद्मा सिफारिस किन गरिएको हो ? त्यही असंवैधानिक काम भएन ? के यो संविधानविपरीतको काम हो ? संविधान मिचियो त्यसो गर्दा ? ६ जनाको साटो संविधानमा वरिष्ठतम जो हुनुहुन्छ, उहाँलाई नै बचुन्नुपर्नेछ भनेको भए संवैधानिक परिषद्को बैठकको पनि आवश्यकता पर्दैनथ्यो । सोझै वरिष्ठतमको नियुक्ति हुने व्यवस्था हुन्थ्यो होला,’ उनले भने, ‘तर, संविधानले त्यसो भनेन । त्यति मात्रै होइन ६ जनाको न्यायाधीशको सिफारिस रास्वपा सरकारले गरेको होइन ।

अघिल्लो सरकारकै पालादेखि सिफारिस भएर बसेको थियो । संवैधानिक परिषद्मा हाम्रो पार्टीका वरिष्ठ नेता प्रधानमन्त्री भएर गएपछि उहाँले बैठक गर्दा त्यसरी आएकामध्येबाट एकजना चयन हुन्छ भनेर बनाइएको विधि गलत हो भने संविधान संशोधनको बहस चलेको छ, गरौँ बहस ।’ उनले न्यायालयको विषयलाई धेरै चर्चा र टसल गरेर जान आवश्यक नरहेको बताए । सभापति लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको अभिव्यक्तिमा आपत्ति जनाउँदै न्यायालयको विषयलाई सडकमा नल्याउन आग्रह गरे । ‘चुनौतीपूर्ण ढंगका अभिव्यक्ति दिएर के लाभ हुन्छ र ? यो त जगहँसाइ मात्र हुन्छ । हामी यस्तो जगहँसाइमा विश्वास गर्दैनौँ । हामीलाई अझै पनि विश्वास छ । मेरो कुरा गर्नुहुन्छ भने मेरो त गर्धन अझै त्यहीँ छ । हुन्छ, त्यस्तो रिस उठेको छ भने चलाइदिनुस् हतियार । त्यहीँ बुझाएर आएको छु मैले गर्धन । म यहीँ छु, त्यहीँ छ मेरो गर्धन । होइन भने न्यायालयको गरिमा, प्रतिष्ठालाई सडकको विषय बनाउनुहुँदैन,’ उनले भने । 

 ‘सुकुमवासी समस्या समाधान गर्छौँ’
लामिछानेले सुकुमवासी समस्या रास्वपाले समाधान गर्ने प्रतिबद्धता जनाए । ‘रास्वपाले खडा गरेको समस्या होइन सुकुमवासी, हामी त समाधान गर्दै छौँ । रास्वपाले सुकुमवासी बनाएको भनेर एउटा परिवार देखाउनुस् न । यो त पुराना दलले भोट बैंकका रूपमा आफूलाई खडा गरेर उनीहरूको समस्यालाई आफ्नो लाभका लागि प्रयोग गरेको कुरा जगजाहेर छ । हामी त्यसलाई समाधान गर्न चाहन्छौँ,’ उनले भने, ‘अझ राम्रो तरिकाबाट समाधान गर्न सकिन्थ्यो कि भन्ने छ, हो सकिन्थ्यो, गरौँला पनि । तर, अव्यवस्थित रूपमा खोलाको छेउमा असुरक्षित ढंगले बस्नुभएका र हाकाहाकी सोझै गैरकानुनी रूपमा हडपिएको अवस्थामा कदम चालिएको हो । त्यसबाहेकका कसैले पनि आत्तिनुपर्दैन । त्यसका लागि छाती थाप्छु भनेको हो, छाती थापिएकै छ नि अहिले पनि । सबैलाई लालपुर्जा दिन्छौँ,’ उनले भने । 

 ‘फास्ट ट्रयाकमा काम गर्न अध्यादेश’
सभापति लामिछानेले जनतालाई डेलिभरीका लागि कानुनी व्यवस्था गरिएको बताए । अध्यादेशबारे अध्ययन गरेर धारणा बनाउन उनले सांसदहरूलाई निर्देशन दिए । ‘अध्यादेशबारे प्रश्न उठेको छ । नियमित ढंगबाट कानुन निर्माण गर्दै जाँदा त्यसले स्थायित्व प्राप्त गर्छ । कानुन निर्माणको प्रक्रिया पनि त्यही हो । तर, कतिपय कुरालाई हामीले फास्ट ट्र्याकमा लिएर जानुपर्ने हुन्छ । फास्ट ट्र्याकमा लिएर जान हामीले देश, जनता, समाजलाई हेरेर कामहरू गरेका छौँ कि छैनौँ, त्यो कुरा हामीले हेर्ने हो,’ उनले भने ।

 रवि–बालेन फुटाउने रहर गरेर मुख नमिठ्याउनुस्
लामिछानेले पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहसँग उच्च समझदारी रहेको र फुटाउने सपना नदेख्न आग्रह गरे । ‘हामी यत्तिकै एउटा कार्यकाल मिलौँ न भनेर मिलेको होइन, इतिहास र भविष्य सम्झेर सहयात्रामा हिँडेको हो । हामीले हाम्रो व्यक्तिगत कुरालाई माग मुद्दा बनाएर हिँडेका छैनौँ । तर, यसो पाइन्छ कि भनेर म त यस्तो हो कि भन्नुभएको साथीहरूको कस्तो हो भन्ने कुरा थाहा हुन्छ । त्यसकारण यो पनि बन्द गर्नुपर्छ । यसको कुनै गुन्जायस छैन, सम्भावना छैन,’ उनले भने । 

सांसदहरूलाई के भने ?
 जीवनी होइन, इतिहास लेख्न हिँडेको हो 
रास्वपा सभापति रवि लामिछानेले आफूहरू इतिहास लेख्ने यात्रामा रहेको भन्दै सामूहिक प्रतिबद्धता चाहिने बताए । ‘नेताका रूपमा कोही मान्छे पार्टीको कुन तहमा पुग्छ, सरकारमा कुन तहमा पुग्छ, त्यो ठुलो कुरो होइन । मुलुक र समाजलाई कस्तो नेतृत्व दिँदै छौँ भन्ने ठुलो कुरो हो । कसैलाई पार्टी सभापति, प्रधानमन्त्री बन्ने उद्देश्यले लागेको हो भने त्यो भ्रम मात्र हो । म जीवनी लेख्न होइन, इतिहास लेख्न हिँडेको हो । जीवनी लेख्नु कुनै ठुलो कुरो होइन । हामी इतिहास लेख्ने यात्रामा छौँ, इतिहास लेख्ने नै हो । यसको अध्यायको सुरुवात गर्दै छौँ,’ उनले भने । विगतमा नेताहरूले जीवन जोखिममा पारेर राजनीतिमा लामो समय संघर्ष र दुःख गरेर परिवर्तनको यात्रामा होमिएको स्मरण गराउँदै लामिछानेले आफूहरूले सजिलो संघर्ष गरेको उल्लेख गरे । 

 पद–प्रतिष्ठा छाडेर कानुन निर्माणमा केन्द्रित हुनुस् 
सभापति लामिछानेले पद–प्रतिष्ठा छाडेर कानुन निर्माणमा केन्द्रित हुन सांसदहरूलाई निर्देशन दिए । योगदानको कुरा गरेर पद नमाग्न उनले सांसदहरूलाई सचेत गराए । ‘हामीमध्ये धेरैले जितेर आयौँ । तर, सबै जना मन्त्री हुन सकेनौँ । कहीँ न कहीँ, कतै न कतै म हुनुपर्ने थियो भन्ने कुराको दुःख त छ साथीहरूलाई । ल भइएन मन्त्री त, समितिको सभापति त मलाई बनाउनुपर्थ्यो, यत्रो योगदान छ मेरो, त्यति पनि बनाएन भनेर चित्त दुखाएको देख्दा हाँसे पनि मनमा घाउचोट राख्नुभएकै छ । तर, म यति भन्छु सांसदका रूपमा हामीले यो देशलाई दिन सक्ने योगदान एकपटक हेर्नु र देख्नुभयो भने त्यो कुनै मन्त्री, पार्टी सभापति वा पदाधिकारीले भन्दा धेरै छ,’ उनले भने ।

सभापति लामिछानेले क्यामेराका अगाडि चर्को बोलेर अभिनय नगर्न सांसदहरूलाई निर्देशन दिए । ‘क्यामेरा देखेपछि जोस आउँछ, भरे मेरो मतदाता कहाँ पुगिहाल्छ भनेर बडो चर्को भाव आउँछ । तर, त्यो तपाईंको भावना हो कि अभिनय हो छुट्याउने जिम्मा तपाईंको । भाइरलको दुनियाँबाट अलि बाहिर निस्किनुपर्छ । चर्चा होस् भन्ने कुरा स्वाभाविक हो । तर, यसको अर्थ हामी आफ्नो कर्मबाट विमुख बनौँ, हामी लोकप्रियताको आडमा जनताको मुद्दालाई छायामा पार्ने त्यो दौडमा त कतै छैनौँ, हामीले सोच्नुपर्छ,’ उनले भने । लामिछानेले विवादमा आउने गरी अभिव्यक्ति नदिन सांसदहरूलाई निर्देशन दिए । ‘हाम्रा अभिव्यक्ति, क्रियाकलापले हामीलाई भोट दिने मान्छेको आशा र भरोसा, मनोभावनामा चोट पुग्यो कि भन्ने कुरा सोच्नुपर्छ । किनकि जिम्मेवारी दिएर पठाएको हो,’ उनले भने । 

रास्वपाले आफ्ना सांसदहरूलाई संसद् र पार्टीमा खेल्नुपर्ने भूमिकाबारे प्रशिक्षण दिएको छ । शनिबार र आइतबार जावलाखेलस्थित स्टाफ कलेजमा रास्वपाले सांसदहरूलाई कानुन निर्माण, विधेयकको प्रक्रिया, संसद्भित्र समन्वय, पार्टीको भूमिका विषयमा प्रशिक्षण दिएको हो । रास्वपा प्रशिक्षण विभाग सचिव कमल सुवेदीका अनुसार सांसदको संवैधानिक भूमिका के छ ? समितिको सभापतिको भूमिका के छ ? ०७९ को संसद्मा रास्वपाले कसरी मुद्दा उठायो, राम्रो कुरा के थियो, प्रभावकारी कसरी बनाएको भन्ने कुराहरू सांसदहरूलाई सिकाइएको छ । सांसद हुँदा र नहुँदाको फरक, राजनीतिक मनोविज्ञान, प्राथमिकता निर्धारणको विषय र कूटनीति पनि पढाइएको थियो । महामन्त्री भूपदेव शाहले पार्टी, सरकार र सदनबिचको समन्वय विषयक प्रस्तुति दिएका थिए । 

सुझावित समाचार