राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भाइरल हुने नाममा जनताको मुद्दाबाट विमुख नहुन सांसदहरूलाई आग्रह गरेका छन्।
पार्टीका सांसदहरूको दुईदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले भाइरलको दुनियाँबाट बाहिर निस्कन सांसदहरूलाई आग्रह गरेका हुन्।
‘अब हामीले घरघरमा गएर गरेको वाचा पूरा गर्ने एउटै मात्र माध्यम विधेयकमा काम गर्ने हो। समितिमा यति धेरै क्यामेरा देखेपछि यसै जोस आउँछ । क्यामेराले खिचिहाल्छ, भरे मेरा मतदाताकहाँ पुगिहाल्छ भनेर चर्कोचर्को बोल्न आफैँ पैतालादेखि टाउकोसम्म भाव आउँछ। तर, त्यो तपाईंको भावना हो कि अभिनय, छुट्याउने जिम्मा तपाईंहरूकै। अब भाइरलको दुनियाँबाट बाहिर निस्कन पर्छ,’ उनले भने।
लोकप्रिय हुने र मिडियामा छाउने अपेक्षा राख्नु स्वाभाविक भए पनि आफ्नो मूल कर्मबाट विमुख हुन नहुने लामिछानले स्पष्ट पारे। उनले भने, ‘हामी कतै लोकप्रियताको आडमा जनताको मुद्दालाई छायामा पार्ने त्यो दौडमा त छैनौँ ? हामीले सोच्नुपर्छ।’