गोल्यान ग्रुपको जेन–जी सहिदका सन्तानलाई शैक्षिकवृत्ति र अभिभावकलाई स्वास्थ्य बिमा

आइतबार, २७ बैशाख, २०८३
डिजिटल संस्करण

गोल्यान ग्रुपले जेन–जी सहिद परिवारलाई शैक्षिकवृत्ति र स्वास्थ्य बिमाको प्रतिबद्धता पूरा गरेको छ । पहिलो चरणमा २२ जना सहिदका ३१ बालबालिकालाई शैक्षिकवृत्ति सम्झौता सम्पन्न गरेको ग्रुपले दोस्रो चरणमा बिहीबार थप २२ सहिदका ४३ आमा–बुबालाई वार्षिक १० लाखसम्मको स्वास्थ्य बिमा प्रदान गर्ने सम्झौता गरेको छ ।

०८२ भदौ २३ र २४ को जेन–जी आन्दोलनमा मृत्यु भएकामध्ये सरकारले ४५ जनालाई सहिद घोषणा गरेको थियो । गोल्यान ग्रुपले असोज २४ गते सहिद परिवारको शिक्षा र स्वास्थ्यको जिम्मेवारी लिने घोषणा गरेको थियो । सोहीअनुसार पहिलो चरणमा ०८२ बाटै लागू हुने गरी बालबालिकालाई शैक्षिकवृत्ति कार्यक्रम प्रदान गरेको गोल्यान ग्रुपले जनाएको छ । 

शैक्षिकवृत्तिमा २२ सहिदका ३१ बालबालिका आबद्ध छन् । उनीहरूलाई प्रतिविद्यार्थी मासिक ४० हजारका दरले वार्षिक अधिकतम चार लाख ८० हजार रुपैयाँको शैक्षिकवृत्ति प्रदान गरिएको छ । शैक्षिकवृत्ति सम्झौतापछि बालबालिकाहरू काठमाडौंको युरो स्कुल, त्रिज्योति सेकेन्डरी स्कुल, गोल्डेन पिक स्कुल, ललितपुरको डिएभी सुशील केडिया विश्वभारती स्कुलमा अध्ययन गरिरहेको ग्रुपले जनाएको छ । 

साथै, झापाको ग्रिन फिल्ड वर्ल्ड स्कुल, चितवनको स्मल हेभन मोडेल स्कुल, पोखराको अर्ली चाइल्डहुड एकेडेमी, बुटवलको स्कलर्स होम बोर्डिङ हाइस्कुल, सुनसरीको मिनील्यान्ड सेकेन्डरी स्कुल, लहानको स्कुल अफ स्कलर्समा पनि बालबालिकाले अध्ययन गरिरहेका छन् । शैक्षिकवृत्तिमा विद्यार्थीको मासिक शैक्षिक शुल्क, खाना तथा खाजा शुल्क, छात्रावास शुल्क, यातायात शुल्क, विद्यालयद्वारा सञ्चालित अतिरिक्त क्रियाकलापका शुल्क, वार्षिक भर्ना शुल्क, प्रशासनिक शुल्क, पुस्तक तथा स्टेसनरी खर्च, विद्यालयको पोसाक शुल्कलगायत सम्पूर्ण शुल्कहरू समावेश गरिएको गोल्यान ग्रुपले जनाएको छ ।

शैक्षिकवृत्तिमा नसमेटिएका सहिद परिवारका लागि स्वास्थ्य बिमा प्रदान गरिएको हो । यसअन्तर्गत सहिदका बुबाआमालाई वार्षिक एकमुस्ट १० लाखबराबरको आजीवन स्वास्थ्य बिमा प्रदान गरिएको बताइएको छ ।

See More On

सुझावित समाचार