‘हाम्रो सरोकार, हाम्रो प्रतिबद्धताः जातीय छुवाछुत मुक्त चौदण्डीगढी नगरपालिका’ भन्ने मूल नाराका साथ उदयपुरको चौदण्डीगढी नगरपालिका औपचारिक रूपमा जातीय भेदभाव तथा छुवाछुत मुक्त नगरपालिका घोषणा गरिएको छ ।
सामाजिक न्याय, समानता र मानवीय सम्मानलाई संस्थागत गर्दै जातीय विभेदविरुद्ध प्रतिबद्धता व्यक्त गर्ने उद्देश्यले नगरपालिकाले उक्त घोषणा शनिबार एक कार्यक्रमबीच गरेको हो ।
बेल्टार बसपार्कमा आयोजित ‘जातीय भेदभाव तथा छुवाछुत मुक्त नगरपालिका घोषणा कार्यान्वयन अभियान’ कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले नगरलाई औपचारिक रूपमा जातीय छुवाछुत मुक्त घोषणा गरेका थिए ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, दलित अधिकारकर्मी, नागरिक समाजका अगुवा तथा स्थानीय समुदायको उल्लेख्य उपस्थितिबीच चौदण्डीगढी नगरपालिका जतीय छुवाछुतमुक्त भएको उद्घोष गरिएको छ ।
घोषणा कार्यक्रममा बोल्दै नगर प्रमुख लामाले आजको दिन चौदण्डीगढी नगरपालिकाको सामाजिक इतिहासमा महत्वपूर्ण र प्रेरणादायी क्षणका रूपमा स्थापित भएको बताए । उनले जातीय विभेद र छुवाछुतजस्ता अमानवीय व्यवहारको अन्त्य गर्दै समानता, सहअस्तित्व र सामाजिक एकताको नयाँ सन्देश प्रवाह गर्न नगरपालिकाले यो कदम चालेको दाबी गरेका छन् ।
उनले भनेका छन्, ‘आजदेखि चौदण्डीगढी नगरपालिका औपचारिक रूपमा जातीय छुवाछुत मुक्त नगरका रूपमा अघि बढेको छ,’ नगर प्रमुख लामाले भने, ‘यो केवल घोषणा मात्र होइन, सामाजिक रूपान्तरणको साझा अभियान हो । यसको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकार मात्र नभई राजनीतिक दल, नागरिक समाज, समुदाय तथा सम्पूर्ण नगरवासीको सक्रिय सहयोग र प्रतिबद्धता आवश्यक छ ।’
संविधानले सुनिश्चित गरेको समानताको अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न नगरपालिकाले दलित समुदायको सशक्तीकरण, सामाजिक न्याय तथा समावेशी विकासलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । साथै, जातीय विभेद र छुवाछुत अन्त्यका लागि नगरपालिकाले दलित सशक्तीकरण ऐन समेत पारित गरिसकेको स्मरण गराउँदै त्यसको प्रभावकारी कार्यान्वयनलाई अझ सुदृढ बनाइने लामाले जानकारी दिए ।
कार्यक्रममा सहभागी दलित अधिकारकर्मी लगायत वक्ताहरूले जातीय विभेदको अन्त्यका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नहुने उल्लेख गर्दै व्यवहारिक परिवर्तन, जनचेतना अभिवृद्धि र सामुदायिक सहकार्य अपरिहार्य रहेको धारणा राखेका थिए । उनीहरूले विभेदरहित समाज निर्माणका लागि स्थानीय तह, शैक्षिक संस्था, राजनीतिक नेतृत्व, नागरिक समाज तथा युवाहरूको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिए ।
नगर स्तरीय दलित समन्वय समिति चौदण्डीगढी नगरपालिका, बेल्टारको आयोजनामा सम्पन्न कार्यक्रम समितिका अध्यक्ष भिम परियारको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा जातीय भेदभाव अन्त्य र समतामूलक समाज निर्माणको प्रतिबद्धतासहित सहभागीहरूले साझा ऐक्यबद्धता व्यक्त गरिएको छ ।