उदयपुरको त्रियुगा नगरपालिका–९, राजाबासमा ६२ वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन् । गत शुक्रबार राति स्थानीय चुडाबहादुर खड्का मृत अवस्थामा फेला परेका हुन् ।
परिवारका अनुसार घरभन्दा करिब एक किलोमिटर दूरीमा रहेको होटेलबाट घर फर्किने क्रममा उनी अबेरसम्म सम्पर्कमा नआएपछि आफन्तले खोजतलास गरेका थिए । खोजी गर्ने क्रममा घरदेखि करिब सात सय मिटर रहेको भित्री गोरेटो बाटोमा उनी मृत अवस्थामा फेला परेका थिए ।
घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर पठाएको थियो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी निरञ्जन थापाका अनुसार पोस्टमार्टम रिपोर्टले चट्याङ लागेर मृत्यु भएको पुष्टि गरेको छ । उनले भने-घर जाने बाटोमै विद्युतको पोल रहेछ । सोही पोलमा चट्याङ पर्दा उनको मृत्यु भएको पुष्टि भएको हो ।
प्रहरीका अनुसार पोस्टमार्टमपछि शव आफन्तलाई बुझाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।