बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने एकल तथा सख्त घाइते महिलालाई मासिक भत्ता दिने गरेको पाइएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने ३८ जना एकल तथा शक्त घाइते महिलालाई मासिक भत्ता दिने गरेको पाइएको हो ।
वन्यजन्तुको आक्रमणबाट श्रीमान् गुमाएका ३० जना एकल महिला र ८ जना वन्यजन्तुको आक्रमण सख्त घाइते भएका महिलालाई मासिक एक हजार पाँच सय रुपैयाँ जीविकोपार्जन भत्ता दिने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्बाहाम्फेले बताए ।
‘वन्यजन्तुबाट पीडित महिलालाई मासिक भत्ता दिँदा उहाँहरूको जीवनयापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले मासिक भत्ता दिने गरिएको छ । भत्ता दिनको लागि संरक्षण शुल्कबाट उठेको रकमको केही रकम दिने गरिएको छ ।’ उनले भने, ‘संरक्षण शुल्कबाट उठेको रकम केही अंश रकम वन्यजन्तुपीडित महिलालाई दिने गरिएको छ ।’
राष्ट्रिय प्रकृति संरक्षण कोषले दिने गरेको मासिक भत्ता भने सामुदायिक वन आसपास बस्ने एकल महिलाले पाउँदैनन् । तर वन्यजन्तुको आक्रमणबाट बर्दियाका जुनसुकै ठाउँमा मासिकको मृत्यु भएमा पीडित परिवारलाई राष्ट्रिय प्रकृति संरक्षण कोषले क्रिया खर्चबापत ५० हजार सहयोग गर्ने गरेको छ ।