दाङमा बन्चराे प्रहारबाट एकजनाको मृत्यु

शनिबार, २६ बैशाख, २०८३
डिजिटल संस्करण

दाङ जिल्लाको राजपुर गाउँपालिका–४, फोहोरामा धारिलो हतियार बञ्चराे प्रहारबाट एक जनाको मृत्यु भएको छ। शनिबार दिउँसाे पाैने २ बजेतिर  रामजानकी सामुदायिक वनबाट साल जातको काँचो काठ काटेर ल्याएको विषयलाई लिएर विवाद हुँदा स्थानीय अन्दाजी ५६ वर्षीय भोला यादवमाथि धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार साेही ठाउँकाे सन्तपुरूवाका २३ वर्षीय इच्छा कुमार रैदासले विवादका क्रममा भोला यादवको टाउकोमा धारिलो हतियार प्रहार गरेका थिए। गम्भीर घाइते भएका यादवको घटनास्थलमै मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नाउब उपरीक्षक रेशम बाेहराले जानकारी दिए । 

घटनापछि आरोपी इच्छा कुमार रैदास फरार रहेका छन् भने उनको खोजतलास तथा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार