श्रीमतीको हत्यापछि लेखा अधिकृत गोपालको बयान : आफन्तीलाई झगडा मिलाइदिन अनुरोध गरेको थिएँ

शनिबार, २६ बैशाख, २०८३
डिजिटल संस्करण

चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेका दाङ तुलसीपुर १९ दोघर्रेनिवासी ३४ वर्षीय गोपाल वलीले बयानका क्रममा श्रीमतीसँग दुई वर्षदेखि बोलचालसमेत नभएको बताएका छन् । डिभिजन वन कार्यालय वीरगन्जमा कार्यरत रहेका वलीले गएको चैत १२ गते श्रीमती २७ वर्षीया कमला वलीको हत्या गरेका थिए । श्रीमतीको हत्यापछि पक्राउ परेका वलीले आफूले पटक–पटक श्रीमतीको आफन्तलाई आफूहरूबिचको झगडा मिलाइदिन अनुरोध गरेको बयान दिएका छन् ।

गोपालको बयानअनुसार यसरी सुरु भयो खटपट

गोपालले २०६७ सालमा खरिदारमा नाम निकालेका थिए ।  उनीहरुबीच २०७० सालमा मागी विवाह भएको थियो । २०७५ सालमा गोपालले लेखा अधिकृतमा नाम निकालेर बबई गाउँपालिका दाङमा पोस्टिङ भएका थिए । बबई हुँदा उनीहरूसँगै बसेका थिए । तर, समायोजनपछि उनको मधेश प्रदेशमा सरुवा भयो । त्यसपछि गोपाल वीरगन्ज गए भने श्रीमती कमला भने दाङ बिजौरीमा कोठा भाडामा लिएर बसिन्। त्यसपछि भने उनीहरूको सम्बन्धमा खटपट आइरहेको कुरा गोपालले बयान दिएका छन् ।

त्यहीबिचमा २०७७ सालमा उनीहरुले विजौरीको दोघर्रे भन्ने ठाउँमा घर बनाएर घर सरिसकेका थिए । त्यसपछि जागिरबाट बिदा मिलाएर घर आउँदा सुरुसुरुमा बाटोमा लिन आउने गरेको भए पनि पछि भने घर आउँदा पनि रिसाउने गरेको भनि गोपालले प्रहरी समक्ष बयान दिएका छन् । ‘२०८१ मा होलीमा घर आउँछु भन्दा घर किन आउने नआए पनि हुन्छ भाडा खर्च हुन्छ भन्दै श्रीमती पन्छिन्,’ गोपालको बयानमा उल्लेख छ, ‘तर, म छोराछोरीको मायाले होलीका सामानहरू लिई घरमा आउँदा श्रीमती मसँग रिसाइन् र हामीबिच झगडा भयो।’

उनीहरुबीच एकअर्काको मोवाइल हेर्न खोज्दा मोवाइल समेत फुटेका थिए । त्यो बीचमा बिदा मिलाएर घरमा आउँदा समेत बोलचाल नहुने अबस्था भएपछि आफ्नो घर र ससुराली पक्षलाई झगडा मिलाइदिन अनुरोध गरेको गोपालको बयान छ । ‘मैले मेरो र श्रीमतीको आफन्तीहरुलाई झै–झगडा मिलाइदिन पर्यो भनि अनुरोध समेत गरेको थिएँ’,उनले बयानमा भनेका छन् ‘भाइ पुलबाट हाम फालेर मृत्यु हुँदा घरमा गएको अबस्थामा समेत बोलचाल भएन ।’

गोपालको माइलो भाइ हेमराज वली गएको असारमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते छन् । उनको तुलसीपुरस्थित थेरापी सेन्टरमा उपचारपछि घर लगिएको थियो । त्यही क्रममा चैते दशैमा बुवा, भाइबुहारी, बहिनी घरमा आएको अबस्थामा पनि श्रीमती कमलासँग केही बोलचाल समेत नभएको गोपालको बयान छ । ‘त्यही क्रममा म पानी खान भान्सा कोठामा गएको थिएँ, श्रीमती पनि भान्सा कोठामै थिइन्’ उनले बयानमा भनेका छन्, ‘त्यहीबेला घरायसी विवाद हुँदा चिर्पट प्रहार गरेको हुँ ।’

सासुको जाहेरी : ज्वाइँले पहिल्यै डिभोर्स गर्ने भन्नुभएको रहेछ

गोपालकी सासु कविता खड्काले जाहेरीमा ज्वाइले पटक–पटक छोरी कमलालाई सम्बन्धविच्छेद गर्नुपर्छ भनी तनाब दिने गरेको खुलाएकी छन् ।‘ज्वाईले पटक–पटक मेरो छोरीलाई सम्बन्धविच्छेद गर्नुपर्छ नगरेमा तलाई मारी फालिदिन्छु भनी झै झगडा तथा धम्की दिदै आउनु भएको रहेछ’, जाहेरीमा उल्लेख छ, ‘मेरी छोरीले मलाई आमा तपाइको ज्वाइले रुपैँया पनि दिनुहुन्न, छोराछोरीको पालनपोषण गर्न साह्रै गाह्रो भएको छ, भनी छोरीले जानकारी गराई राखेकी थिइन ।’

चारजनाविरुद्ध जन्मकैदको माग

हत्याको संलग्न भएको भन्दै श्रीमान् ओलीसहित उनका बुवा कर्णबहादुर ओली, भाइबुहारी टिका केसी र बहिनी पुतला ओलीलाई जन्मकैदको माग गरी अदालतमा अभियोगपत्र दायर गरिएको छ । वैशाख ६ गते जिल्ला अदालत दाङमा अभियोगपत्र दायर गरिएको हो ।  चैत १२ गते चैते दसैँका दिन श्रीमती कमला वलीको हत्या भएको थियो । तुलसीपुर १९ दोघर्रेस्थित घरमा हत्या भएको थियो ।  

सुझावित समाचार