- सन् २०२३ मा म्यानचेस्टर युनाइटेड छाडेर अल नासरमा आबद्ध भएका रोनाल्डोले तीन सिजनमै साउदी प्रो लिगमा सय गोल गरे
पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा सय गोल पूरा गरेका छन् । सन् २०२३ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेर एसियन क्लब अल नासरमा आबद्ध भएका रोनाल्डोले तीन वर्षभित्र नै साउदी प्रो लिगमा एक सय गोल कोसेढुंगा पार गरेका हुन् । खेलको ७५औँ मिनेटमा अल सबाबविरुद्ध एक गोल गर्दै उनले यो सफलता प्राप्त गरेका हुन् । साउदी प्रो लिगअन्तर्गत शुक्रबार भएको खेलमा अल नासरले अल सबाबलाई ४–२ ले हराएको छ । जितसँगै अल नासरले शीर्ष स्थानमा पाँच अंकको अग्रता लिन सफल भएको छ ।
४१ वर्षीय पोर्चुगलका कप्तानसमेत रहेका रोनाल्डोले साडिओ मानेको क्रसमा डिबक्सबाटै उत्कृष्ट गोल गरेका थिए । उनले आफ्नो व्यावसायिक फुटबल करिअरमा ९७१औँ गोल पनि पूरा गर्न सफल भए । साथै, उनको यो यस सिजनमै २६औँ लिग गोल थियो । अल नासरका प्रशिक्षक जोर्ज जिससले डर्बीमा कठिन हुने बताए । पाँचपटकका बालोन डि’अर विजेता रोनाल्डो अझै पनि साउदी प्रो लिग उपाधिबाट विमुख छन् ।
अल नासरका प्रशिक्षक जर्जे जेसुसले रोनाल्डोले मैदानमा सधैँ अन्य खेलाडीलाई समेत प्रेरित गर्दै प्रतिस्पर्धा गर्ने बताए । ‘रोनाल्डोलाई कहिल्यै पनि सुस्त गतिमा हामीले पाएका छैनौँ । उनी सधैँ आक्रामक रूपमा मैदानमा प्रस्तुत हुनुका साथै गोलका लागि तत्परता देखाइरहन्छन्,’ जर्जेले भने, ‘अल सबाबविरुद्ध पनि उनले यस्तै प्रदर्शन गरेका छन् ।’
प्रतिस्पर्धामा जोआलो फेलिक्सले अल नासरबाट ह्याट्रिक गरे । गत जुलाईमा मात्र उनी इंग्लिस क्लब चेल्सी छाडेर अल नासरमा आबद्ध भएका थिए । महत्वपूर्ण जितसँगै अल नासरले ३२ खेलमा ८२ अंक बनाएको छ । यो दोस्रो स्थानमा रहेको अल हिलालविरुद्ध अल नासरले पाँच अंकको अग्रता लिएको हो । तर, लिगमा अल हिलालले अझै तीन खेल खेल्न बाँकी छ । शीर्ष स्थानको अल नासरले दुई खेल मात्र बाँकी छ ।
रोनाल्डोलाई उपाधि जित्न एक अंक आवश्यक
रोनाल्डो जहाँ आबद्ध भए, उपाधि जितेका छन् । तर, साउदी प्रो लिगमा भने उनले अहिलेसम्म उपाधि चुम्न सकेका छैनन् । यसपटक उनलाई उपाधि जित्ने अवसर छ । साउदी प्रो लिग लगभग सकिन लागेको छ । अल नासरले महत्वपूर्ण पाँच अंकको अग्रता लिएको छ । अल नासरले उपाधि जित्नका लागि केवल एक अंक मात्र जोड्दा काफी हुनेछ । १२ मेमा अल नासरले कडा प्रतिद्वन्द्वी अल हिलालविरुद्ध प्रतिस्पर्धा गर्दै छ । यो खेलमा अल नासरले जित निकाल्दा उपाधि हात पार्नेछ । यससँगै रोनाल्डोले अल नासरलाई उपाधि दिलाउने आकांक्षा पनि पूरा हुनेछ । यसैगरी, १६ मा अल नासरले एसियन च्याम्पियनस लिग–२ को फाइनलमा गाम्बा ओसाकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । चार दिनभित्र रोनाल्डोसमक्ष दुईवटा उपाधि जित्ने अवसरसमेत जुरेको छ ।
१७ क्लबविरुद्ध गोल
यस सिजनको साउदी प्रो लिगमा रोनाल्डोले सहभागी सबै १७ टोलीविरुद्ध गोल गरेका छन् । जुन साउदी प्रो लिगमा एक किसिमको रेकर्ड हो । एकै सिजनमा सहभागी १७ क्लबविरुद्ध नै गोल गर्ने रोनाल्डो पहिलो खेलाडी हुन् । उनले सबैभन्दा बढी गोल अल सबाबविरुद्ध गरेका छन् । उनले यस क्लबविरुद्ध सात गोल गरेका छन् । समग्र प्रतियोगितामा भने उनले यस क्लबविरुद्ध नौ खेलमा आठ गोल र एक असिस्ट गरेका छन् ।