राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपालको विपत् जोखिम न्यूनीकरण तथा विपत् व्यवस्थापनसम्बन्धी नीतिगत बहसलाई केन्द्रमा राख्दै ‘राष्ट्रिय नीति मन्थन’ कार्यक्रम आयोजना गर्ने भएको छ।
पार्टीको ‘पार्टी–सांसद–सरकार समन्वय समिति’को आयोजनामा हुने उक्त विशेष अन्तरक्रिया कार्यक्रम आगामी वैशाख २७ गते आइतबार काठमाडौंको नेपाल पर्यटन बोर्डस्थित सभाहलमा सञ्चालन हुने जनाइएको छ।
रास्वपाले मुलुकमा बढ्दो विपत् जोखिम, त्यसको न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापनका लागि आवश्यक नीति, योजना र कार्यान्वयनका उपायबारे व्यापक छलफल गर्न कार्यक्रम आयोजना गर्न लागिएको जनाएको छ।
पार्टीका महामन्त्री एवं समन्वय समितिका संयोजक भूपदेव शाहद्वारा जारी पत्रअनुसार कार्यक्रमलाई परिणाममुखी बनाउन पार्टीका सबै केन्द्रीय विभाग प्रमुख वा प्रतिनिधिहरूलाई अनिवार्य रूपमा सहभागी हुन आग्रह गरिएको छ।
रास्वपाले कार्यक्रममार्फत विज्ञ, नीति निर्माता, सांसद तथा सरोकारवाला निकायबिच समन्वय गर्दै विपत् व्यवस्थापनका क्षेत्रमा दीर्घकालीन रणनीति निर्माणमा योगदान पुग्ने अपेक्षा गरेको छ।
