पत्रकारितालाई संकुचन गराउने कार्यले लोकतन्त्रको हित हुँदैन : मुख्यमन्त्री कार्की

शुक्रबार, २५ बैशाख, २०८३
डिजिटल संस्करण

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारितालाई कुनै पनि बहानामा संकुचन गराउने कार्य लोकतन्त्रको हितमा नहुने बताएका छन् । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा बिहीबार विराटनगरमा पत्रकार पुरस्कृत कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले पत्रकारितामा संकुचन ल्याउने कार्यले लोकतन्त्रलाई कमजोर बनाउने बताएका हुन् । 

कोशी प्रदेशका ६ जना अग्रज पत्रकारलाई पुरस्कृत गर्दै  मुख्यमन्त्री कार्कीले विज्ञापन  कटौती वा अरू कुनै बहानामा पत्रकारितालाई कमजोर बनाउनु भनेको संविधानविपरीत हुने भएकोले त्यसले लोकतन्त्रमा संकुचन ल्याउने बताए ।

 कोशी प्रदेशका ६ जना अग्रज पत्रकारलाई जनही एक लाख रुपैयाँ पुरस्कार प्रदान गर्दै मुख्यमन्त्री कार्कीले भने, ‘कोशी प्रदेशमा हाम्रो सरकार भए पनि राष्ट्रिय रूपमा हाम्रो पार्टी प्रतिपक्षमा छ, तैपनि हामी लोकतन्त्रको रक्षाका लागि स्वतन्त्र पत्रकारिताको पक्षमा अडिग रहिरहनेछौँ ।’ उनले संघीय सरकारले विज्ञापन कटौती गरे पनि कोशी प्रदेश सरकारले आगामी बजेटमै व्यवस्था गरेर प्रदेशका सञ्चारमाध्यमलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । 

मुख्यमन्त्री कार्कीले भने, ‘हामी नीति बनाएरै प्रदेशको पत्रकारितालाई कमजोर हाेइन अझै बलियो बनाउन लागिपर्ने छौँ, यसमा तपाईंहरू ढुक्क भए हुन्छ ।’
मुख्यमन्त्री कार्कीले एक महिनाअघि प्रदेश सभाबाट कोशी प्रदेश आमसञ्चार विधेयक  पारित भइसकेकोले चाँडै पदाधिकारीहरू नियुक्त गरेर कार्य सञ्चालन गराउन सरकार लागिपरेको जानकारी दिए । उनले मन्त्री र सचिवलाई निर्देशन दिँदै भने, ‘तपाईंहरूले   नियमावली बनाउनुअगाडि नै  आमसञ्चार प्रतिष्ठानको कार्यालय र आवश्यक बजेटको व्यवस्था गरिदिनुहोला ।’  
 
आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले पारित भएको आमसञ्चार प्रतिष्ठानका  नियमावली  तयार भइरहेको र केही दिनमै पदाधिकारीरूको पनि नियुक्त गर्ने मन्त्रालयको तयारीबारे जानकारी गराए । मन्त्री पराजुलीले कोशी प्रदेश सरकारले ०७५ देखि प्रदान गर्दै आएको अग्रज पत्रकार पुरस्कारको राशि आगामी वर्षदेखि एक लाख रुपैयाँबाट वृद्धि गरेर योगदानको कदर गर्न सकारात्मक रहेको बताए । 

सुझावित समाचार