बिहीबार विहारमा सम्राट चौधरी नेतृत्वको सरकार विस्तार गरियो । पटनाको गान्धी मैदानमा आयोजित एक विशेष समारोहमा जनता दल (युनाइटेड अर्थात् जेडियू) का प्रमुख नीतीश कुमारका छोरा निशान्त कुमार र अन्य ३१ नेताले मन्त्रीको रूपमा शपथ लिए ।
राज्यका गभर्नर (सेवानिवृत्त) लेफ्टिनेन्ट जनरल सैयद अता हसैनले कुल ३२ विधायकलाई पद तथा गोपनीयताको शपथ गराए । ३२ विधायक राज्यको सत्तारुढ गठबन्धन ‘एनडिए’का पाँच दलका हुन् । तिनमा भारतीय जनता पार्टी (भाजपा), जेडियूका १३, चिराग पासवानको नेतृत्वमा रहेको लोक जनशक्ति पार्टी (राम विलास)का दुई, जितन राम माझीको नेतृत्वमा रहेको हिन्दुस्तान अवम मोर्चा (सेकुलर) तथा राज्यसभा सांसद उपेन्द्र कुशवाहको नेतृत्वमा रहेको राष्ट्रिय लोकमोर्चाबाट एक–एक रहेका छन् ।
निशान्त कुमारबाहेक मन्त्रिपरिषद्मा समावेश गरिएका अन्य परिचित नाममा पूर्वउपमुख्यमन्त्री विजय कुमार सिन्हाका साथै पूर्वमन्त्रीहरू श्रवण कुमार र अशोक चौधरी छन् । सपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, जेडियू नेता नीतीश कुमार र राज्यमा सत्तारुढ एनडिएका अन्य वरिष्ठ नेता उपस्थित थिए । राज्यसभामा निर्वाचित भएपछि जेडियू अध्यक्ष नीतीश कुमारले विहारको मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि गत महिना भाजपा नेता सम्राट चौधरीको नेतृत्वमा सरकार गठन भएको थियो । यो विहार राज्यमा गठन भएको पहिलो भाजपा नेतृत्वको सरकार हो ।
४५ वर्षीय निशान्त कुमार आफ्ना बुबा नीतीश कुमारले मुख्यमन्त्री पद त्यागेपछि सार्वजनिक जीवनमा केही सक्रिय भएका हुन् । नत्र, उनी राजनीतिमा प्रवेश गर्न अनिच्छुक रहेको बताइन्छ । पार्टीले मनाएपछि मात्र इन्जिनियरिङ पृष्ठभूमिका निशान्तले गत महिना नयाँ मन्त्रिपरिषद्मा सहभागी हुन् सहमति जनाएको बताइन्छ ।