प्रेरक प्रसंग : व्यावहारिक ज्ञान र कर्मको महत्व

शुक्रबार, २५ बैशाख, २०८३
डिजिटल संस्करण

एक गाउँमा चार महिला पानी भर्न नजिकैको पँधेरामा जम्मा भए । कुरैकुरामा एक महिलाले भनिन्– मेरो छोरो इन्जिनियर भयो । र, अहिले नजिकैको सहरमा एक ठुलो कम्पनीमा काम गर्छ । दोस्री महिलाले भनिन्– मेरो छोरा त वैज्ञानिक बनेको छ । तेस्री महिलाले पनि बडो गर्वसाथ भनिन्– मेरो छोरो त डाक्टर भएको छ । सहरको ठुलो अस्पतालमा काम गर्छ । चौथी महिला चुपचाप सबैका कुरा सुनिरहेकी थिइन् ।

बाँकी तीन महिलाले एकसाथ उनलाई प्रश्न गरे– साँच्ची तिम्रो छोरोचाहिँ के गर्छ नि बहिनी ? उनले भनिन्– मेरो छोराले पढेलेखेको छैन । ऊ आफ्नै खेतबारीमा काम गर्छ । कुराकानी गर्दागर्दै उनीहरूको घडा पनि भरियो । चारै महिला आआफ्ना गाग्री उठाएर घरतिर फर्किए । 

अचानक पहिली महिलाको इन्जिनियर छोरो उनीहरूको अगाडि आइपुग्यो । सबैलाई नमस्कार गरेर ऊ आफ्नो बाटो लाग्यो । फेरि दोस्री र तेस्री महिलाका छोरा पनि उनीहरूका अगाडि आइपुगे र सबैलाई नमस्कार गरेर अघि बढे । केहीबेरपछि चौथी महिलाको छोरो पनि उनीहरूका अगाडि आइपुग्यो । आमाले गाग्री बोकिरहेको देखेर ऊ दौडेर नजिक आयो र गाग्री आफूले बोक्दै भन्यो– आमा पानी भर्न हजुर किन आउनुभयो ? मलाई भनेको भए म ल्याइहाल्थेँ नि ! यति भनेर ऊ गाग्री बोकेर आमाको हात समातेर अघि बढ्यो । बाँकी तीन महिलाले आज पढाइभन्दा व्यावहारिक ज्ञान र उसको कर्म बढी महत्वपूर्ण हुने रहेछ भन्ने बुझे । 

सुझावित समाचार