अभ्यास खेलमा स्कटल्यान्डविरुद्ध नेपाल ‘ए’ विजयी

बिहिबार, २४ बैशाख, २०८३
डिजिटल संस्करण

पहिलो अभ्यास एकदिवसीय खेलमा नेपाल ‘ए’ले स्कटल्यान्डमाथि ४५ रनको जित निकालेको छ। २७८ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले ४८.२ ओभरमा अलआउट हुँदा मात्र २३२ रन जोड्न सक्यो।

जवाफी ब्याटिङ गरेको स्कटल्यान्डका लागि फिन्ले म्याक्रेथले अर्धशतक बनाए। उनले ७३ बलमा ५२ रन जोड्दा ज्याक जार्भिस ४५, मार्क वाट ३७, मेथ्यु क्रस २२ र ब्राडन मेकमुलन २१ रन जोडेर पेभेलियन फर्किए।

स्कटल्यान्डलाई सस्तैमा समेट्न नेपालका रासिद खानले सर्वाधिक तीन विकेट लिए। युवराज खत्री, बसिर अहमद र सहाब आलमले समान दुई विकेट हात पार्दा कुशल मल्लले एक विकेट निकाले।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर २७७ रनको योगफल तयार गरेको थियो। देव खनालले सर्वाधिक ६३ रन बनाउँदा मयन यादवले ४५ रनको योगदान गरेका थिए। सन्दीप जोरा र पवन सर्राफले क्रमशः ३४ र ३१ रन जोडेर पेभेलियन फर्किँदा दीपक डुम्रे २३ रन बनाएर नटआउट रहे।

स्कटल्यान्डका ब्राडली करी र सफ्यान  सरिफले दुई/दुई विकेट लिँदा ज्याक जार्भिस, ओलिभर डेभिडसन,  ब्राडन मेकमुलेन र मार्क वाटले समान एक विकेट लिएका थिए।

अब, नेपालले दोस्रो अभ्यास खेल शुक्रबार अमेरिकासँग खेल्नेछ। अमेरिका र स्कटल्यान्ड विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजअगाडि नेपालमा अभ्यास खेल खेल्न आएका हुन्।

सुझावित समाचार