एमाले सुदूरपश्चिम प्रदेशका पदाधिकारी र प्रदेश सभाका सदस्यले पार्टी अध्यक्ष केपी ओलीसँग बुधबार छलफल गरेका छन् । ओलीनिवास गुन्डुमा करिब चार घण्टासम्म प्रदेश सभामा पार्टीको संसदीय दलको नेता फेरबदल, मन्त्रीका कार्यशैलीलगायत विषयमा छलफल भएको नेताहरूले बताएका छन् । छलफलमा सहभागी एक नेताका अनुसार केही सांसदले दलको नेता र मन्त्रीसमेत फेरबदल गर्नुपर्ने आशयका धारणा राखेका थिए ।
एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई हटाउनुपर्ने आवाज सांसदहरूले उठाउँदै आएका थिए । रावलले सरकारका नियुक्तिलगायत विषयमा पार्टी तथा दलमा समन्वय र सल्लाह नगरेको भन्दै एमाले प्रदेश कमिटीले उनको भूमिकामाथि प्रश्न उठाउँदै केही महिनाअघि पार्टी केन्द्रलाई पत्राचारसमेत गरेको थियो । प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले पठाएको पत्रमा रावल पार्टी विधानअनुसार नचलेको उल्लेख गरिएको थियो ।
एमालेका केही प्रदेश सांसदले दलको नेता फेर्नुपर्ने विषय यसअघि नै अध्यक्ष ओलीसमक्ष पुर्याएका थिए । दलको नेता र मन्त्रीका भूमिका, उनीहरूको फेरबदल तथा सत्तासमीकरण फेरबदलका विषयमा केन्द्रित रहेर सांसदहरूले धारणा राखेका छलफलमा सहभागी एक सांसदले बताए । ‘दलको नेता र मन्त्रीहरू फेरेर जानुपर्ने कुराहरू पनि आए । सत्ता समीकरणबारे पनि कुरा उठ्यो,’ उनले भने, ‘छलफल लामै भए पनि निर्णय केही भएन ।’
छलफलमा एमालेका ११ प्रदेश सांसद, उपमहासचिव लेखराज भट्ट, संयोजक गणेशसिंह ठगुन्ना, प्रदेश अध्यक्ष जैसी सहभागी थिए । ‘संसदीय दल तथा सरकारमा पार्टीको भूमिका कसरी प्रभावकारी बनाउने भन्ने विषयमा केन्द्रित रहेर छलफल भएको हो । संसदीय दल र मन्त्रीहरूको भूमिका प्रभावकारी हुनुपर्छ भनेर कुरा राख्यौँ,’ जैसीले भने, ‘हाम्रा मन्त्रीहरूले हामीले राम्रै गरिरहेका छौँ भन्छन्, तर जनताले पत्याएका छैनन् ।’
संसदीय दलको भूमिका प्रभावकारी नभएको र पार्टीसँग समन्वय नभएको विषय आफूले राखेको उनले बताए । कांग्रेस नेतृत्वको प्रदेश सरकारमा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री छन् । समीकरण कायम राख्ने वा फेरबदल गर्ने भन्ने विषयमा पनि सांसदहरूले जिज्ञासा राखेका बताइएको छ ।
दलको नेता, मन्त्री र सत्ता समीकरण फेरबदलबारे अध्यक्षबाट कुनै निर्देशन नआएको छलफलमा सहभागी सांसदले बताएका छन् । संसदीय दलका उपनेता सन्तोषकुमारी थापा शर्माले अध्यक्षसँग विभिन्न विषयमा छलफल भए पनि निर्णय नभएको बताइन् । ओलीले अहिलेको विषम परिस्थितिमा एक भएर जानुपर्ने बताएका थिए । ‘छलफल राम्रै भयो । कसरी अगाडि बढ्ने भनेर आज निर्णय भने भएको छैन,’ जैसीले भने, ‘केन्द्रबाट केही निर्देशन आउला, केन्द्रको निर्देशनअनुसार अगाडि बढ्छौँ ।’
ओलीले भने–एकतालाई केन्द्रमा राख्नुस्
एमाले अध्यक्ष केपी ओलीले अहिलेको अवस्थामा पार्टीभित्र मजबुत एकता आवश्यक भएकाले संसदीय दलभित्र कुनै पनि विषयमा थप विवाद नगर्न सांसदहरूको ध्यानाकर्षण गराएका छन् । गुन्डुस्थित निवासमा सांसदहरूको लामो ब्रिफिङ सुनेपछि ओलीले त्यस्तो ध्यानाकर्षण गराएका हुन् ।
‘पार्टीभित्रको असन्तुष्टि पार्टीभित्रकै फोरममा राख्नुपर्छ । दलभित्र छलफल गरेर जे निर्णय हुन्छ, त्यसैमा एकताबद्ध भएर जानुपर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै एमाले सुदूरपश्चिम संयोजक गणेशसिंह ठगुन्नाले नयाँ पत्रिकासँग भने, ‘म पनि पार्टीका थप नेता साथीहरूसँग छलफल गर्छु, त्यसपछि सल्लाह गरेर पार्टीको हित हुने गरी अघि बढ्नुपर्छ ।’ छलफलमा प्रदेशका सांसदहरूले मात्र बोलेका थिए । सहभागी संयोजक ठगुन्नाले प्रदेश संसदीय दलका विषयमा मात्र नभएर प्रदेश संसद्, संसदीय दल, सांसदहरूको भूमिका, २१ फागुनको चुनावमा प्रदेश सरकारको कामको प्रभावलगायत समग्र विषयमा कुराकानी भएको जानकारी दिँदै केही नेताहरूसँगको अलग छलफलपछि अध्यक्ष ओलीले पनि प्रदेशका सवालमा ठोस धारणा दिने बताए ।
‘नेताहरूसँगको छलफलपछि अध्यक्षले पनि केही सुझावसहितका धारणाहरू दिनुहुनेछ, अहिलेलाई को व्यक्ति दलको नेता बनाउने भन्नेमा होइन, समग्रमा प्रदेश, प्रदेश संसदीय दल र पार्टी कामलाई कसरी प्रभावकारी बनाउने कुरामा छलफल भएको हो, त्यस क्रममा व्यक्तिविशेषका कुराहरू पनि आए होलान्, छलफलमा त्यसरी उठ्ने विषय महत्वपूर्ण कुरा होइन, साझा विषय र साझा निष्कर्षचाहिँ महत्वपूर्ण भएकाले त्यसतर्फ केन्द्रित छौँ ।’
एमालेले संसदीय दलको कामका विषयमा प्रदेशस्तरमा पनि अलग्गै छलफल गरेको छ । प्रदेश र संसदीय दलमा छलफलपछि अध्यक्ष ओलीको पनि राय लिएर निर्णय गर्न उपयुक्त ठानेर सांसदहरू काठमाडौं आएको नेताहरूले जनाएका छन् । ओलीले थप छलफलका लागि एमाले उपमहासचिव लेखराज भट्ट, संयोजक गणेशसिंह ठगुन्ना, अध्यक्ष कृष्णप्रसाद जैसी र दलका नेता राजेन्द्रसिंह रावललाई बोलाएका छन् ।