महिला क्रिकेट टोलीमा तीन खेलाडी फेरिए

बिहिबार, २४ बैशाख, २०८३
डिजिटल संस्करण
  • सीता रानामगर, सोनी पाख्रिन र सिमाना केसीले टोलीमा स्थान बनाउँदा रचना चौधरी, रोमा थापा र सुमन विष्ट बाहिरिए

नेपाल क्रिकेट संघ (क्यान)ले एसियन खेलकुद छनोट तथा एसिसी महिला प्रिमियर कपको राष्ट्रिय महिला टोली घोषणा गरेको छ । दुई महŒवपूर्ण प्रतियोगिताका लागि क्यानले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गर्दा तीन खेलाडी बाहिरिएका छन् । टोलीमा तीन सिनियर खेलाडीले स्थान बनाउन सफल भएका छन् । दुईवटै अन्तर्राष्ट्रिय प्रतियोगिता मलेसियामै हुनेछन् ।

२३ देखि ३१ मेसम्म एसियन खेलकुदको छनोट हुनेछ । त्यसपछि १ देखि १३ जुनसम्म एसिसी प्रिमियर कप हुने क्यानले जनाएको छ । यी दुईवटै प्रतियोगिताका लागि अनुभवी सीता रानामगरसँगै सोनी पाख्रिन र सिमाना केसीले पुनरागमन गरेका छन् । यसपटक रचना चौधरी, रोमा थापा र सुमन विष्टले स्थान बनाउन सकेनन् । क्यानले पूजा महतोलाई उपकप्तानको जिम्मेवारी निरन्तरता दिएको छ । एसियन तथा एसिसी प्रिमियर कपका लागि विन्दु रावल, सम्झना खड्का, रुबि पोद्दार, कविता कुँवर, कविता जोशी, रिया शर्मा, अनु कडायत, मनीषा उपाध्याय र रुबिना क्षेत्रीले स्थान पक्का गरेका छन् ।

भारतीय प्रशिक्षक हर्षल जयन्ट पाठकले रुवान्डामा खेलाडीको प्रदर्शनअनुसार खेलाडी छनोट गरेका हुन् । रुवान्डामा यसै साता भएको आइसिसी महिला च्यालेन्ज कप टी–२० प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो । नेपालले प्रतियोगितामा दोस्रो स्थान पक्का गर्दा १० अंक जोडेको थियो । नेपालले केवल अमेरिकालाई मात्र हराउन सकेन । यसबाहेक नेपालले आयोजक रुवान्डा, इटाली र भानुआटुलाई हराउन सफल भयो ।  सोनी लामो समयपछि टोलीमा पुनरागमन गर्न लागेकी हुन् । राइजिङ स्टार्स महिला एसिया कपमा प्रदर्शन गरेकी सीताले आइसिसी च्यालेन्ज कपमा खेलिनन् । यद्यपि, उनी टोलीमा थिइन् । क्यानले सावित्री धामी, सोमु बिस्ट, सना प्रवीण र लक्ष्मी साउदलाई वैकल्पिक खेलाडीका रूपमा समावेश गरेको छ ।

कविता र मनीषा फर्ममा
रुवान्डामा भएको च्यालेन्ज कपमा नेपालका दुई बलर सर्वाधिक विकेट लिने सूचीमा परेका थिए । कविता कुँवरले आठ खेलमा सर्वाधिक १५ विकेट लिएकी थिइन् । उनले एक खेलमा ह्याट्रिकसहित ६ विकेट हात पारेकी थिइन् । सो प्रतियोगितामा उनको इकोनोमी ७ रनरेट रहेको थियो । भानुआटुकी भेनेसा भिराले पनि आठ खेलमा १५ विकेट नै लिएकी थिइन् । तर, भेनेसाले ९.४७ को रनरेटमा बलिङ गरिन् । नेपाललाई उपविजेता बनाउन बलिङमा राम्रो प्रदर्शन गरेकी मनीषले आठ खेलमा १२ विकेट हात पारेकी थिइन् ।

आठ खेलमा उनले ८.१६ औसतमा बलिङ गरिन् । प्रतियोगितामा कविता र रुबिना क्षेत्री उत्कृष्ट बलिङ स्पेल गरेका थिए । कविताले ३.९९ र रुबिनाले ४.०६ को इकोनोमीमा बलिङ गरेको आइसिसीले जनाएको छ । नेपालकी ओपनर सम्झना खड्का च्यालेन्ज कपमा उत्कृष्ट स्ट्राइक रेटमा रन बनाउने सुचीको तेस्रो स्थानमा रहिन् ।

उनले आठ खेलमा एक नटआउट रहँदै १६१ रन बनाइन् । उनले यसक्रममा एक अर्धशतकीय इनिङ्स खेलेकी थिइन् । यसैगरी, कप्तान इन्दुले आठ खेलमा १०६ को स्ट्राइकमा ब्याटिङ गर्दै ११८ रन जोडिन् । च्यालेन्ज कपमा धेरै रन बनाउने सूचीमा सम्झना तेस्रो स्थानमा रहिन् । कप्तान बर्मा भने नवौँ स्थानमा रहिन् । 

See More On

सुझावित समाचार