- वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष निर्वाचित कार्यसमितिले चयन गर्ने, सरकारसँग हातेमालो गर्दै अर्थतन्त्र उकास्ने र निजी क्षेत्रको पैरवी गर्ने नवनिर्वाचित अध्यक्ष श्रेष्ठको घोषणा
निजी क्षेत्रको सबैभन्दा ठुलो छाता संगठन नेपालका उद्योग वाणिज्य महासंघको अध्यक्षमा उद्योगी अञ्जन श्रेष्ठ चयन भएका छन् । महासंघको बुधबार सम्पन्न ६०औँ साधारणसभा एवं अधिवेशनबाट व्यावसायिक घराना लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक श्रेष्ठ निजी क्षेत्रको नेतृत्वमा पुगेका हुन् ।
चैत ०७९ मा सम्पन्न महासंघको चुनावबाट उनी निर्विरोध वरिष्ठ उपाध्यक्षमा चयन भएका थिए । यसअघिको महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था थियो । सोहीअनुसार श्रेष्ठ वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बनेका हुन् । महासंघका २१औँ अध्यक्ष बनेका श्रेष्ठको कार्यकाल तीन वर्षको हुनेछ ।
अध्यक्ष श्रेष्ठलाई निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्वाचनस्थल प्रज्ञा भवनमा पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् । उनले महासंघको सचिवालय टेकुमा बिहीबार पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
महासंघ नेतृत्वमा पुगेका अध्यक्ष श्रेष्ठले आफ्ना मुख्य सात प्राथमिकता भएको बताए । उनले खस्किएको व्यावसायिक मनोबल उकास्ने, बजारमा माग बढाएर अर्थतन्त्रलाई चलायमान बनाउने, अनुकूल व्यावसायिक वातावरण निर्माणका लागि पैरवी गर्ने, पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिता बढाउने तथा पुँजीगत खर्चका लागि सरकारको स्रोत तथा सामर्थ्य विकासमा सरकारलाई सघाउने, साना तथा मझौला उद्यम व्यवसायको प्रवर्द्धन तथा विस्तार गर्ने, बैंक तथा वित्तीय क्षेत्रमा थुप्रिएको स्रोत परिचालनको आधार बनाउने र निजी क्षेत्रको हक अधिकारका लागि पैरवी गर्ने आफ्ना प्राथमिकता रहेको उनले बताए ।
‘सरकारको सल्लाहकार र साझेदार भएर देशको अर्थतन्त्र विकासका काममा लाग्ने छौँ,’ उनले भने, ‘निजी क्षेत्रलाई एकढिक्का बनाएर निजी क्षेत्रको हक अधिकारका लागि पैरवी गर्नेछौँ ।’ अब निजी क्षेत्रले नेतृत्व गर्ने निजी–सार्वजनिक साझेदारी (पिपिपिपी)को अवधारणा अघि बढाउने उनले बताए ।
निवर्तमान अध्यक्ष ढकालले बुधबार नै श्रेष्ठलाई पद हस्तान्तरण गरेको बताए । ‘निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्थाको अध्यक्षको हैसियतले बुधबारदेखि आफ्नो जिम्मेवारी अञ्जन श्रेष्ठज्यूलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छु । उहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष भने निर्वाचित कार्यसमितिले चयन गर्नेछ । वरिष्ठ उपाध्यक्षमा निवर्तमान उपाध्यक्षद्वव हेमराज ढकाल र सुरकृष्ण वैद्य आकांक्षी देखिएका छन् । निर्वाचन मतपरिणामले वैद्यनिकट बढी विजयी भएको देखिएको छ ।
एसोसिएटमा को–को निर्वाचित भए ?
महासंघको एसोसिएटतर्फको उपाध्यक्षमा उद्यमी प्रवलजंग पाण्डे निर्वाचित भए । लोमस ग्रुपका पाण्डेले ज्योत्सना श्रेष्ठ सुब्बालाई तीन सय २९ मतान्तरले पारित गरे । उपाध्यक्षमा विजयी पाण्डेले एक हजार ७९ मत ल्याउँदा पराजित श्रेष्ठले सात सय ५० मत मात्रै ल्याइन् ।
एसोसिएटतर्फको सदस्यतर्फ सबैभन्दा बढी एक हजार तीन सय १८ मत ल्याएर आइएमई ग्रुपका सचिन ढकाल निर्वाचित भएका छन् । एसोसिएटतर्फ निर्वाचित अन्य सदस्यमा अम्बिकाप्रसाद पौडेल, ईश्वरबहादुर जिसी, उज्ज्वलकुमार श्रेष्ठ, ऋषि अग्रवाल, कृष्णलाल महर्जन, दिवस न्यौपाने, प्रियराज रेग्मी, बटु लामिछाने, बाबुकाजी कार्की, राजेशकुमार अग्रवाल, रामशरण भण्डारी, शक्तिकुमार बेगानी, सुयस प्याकुरेल, सुरज उप्रेती, सुशील थापा र हेमन्त गोल्छा रहेका छन् । एसोसिएटतर्फको महिला सदस्यमा अभिज्ञा मल्ल र जुना माथेमा निर्वाचित भए । एसोसिएटतर्फकै द्विराष्ट्रिय उद्योग वाणिज्य संघमा मनोज पौडेल र संस्थापक सदस्यमा गोपाल श्रेष्ठ र सुमन कुमार श्रेष्ठ निर्वाचित भए ।
वस्तुगततर्फ विजयी उम्मेदवार
महासंघको वस्तुगततर्फको उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । नेपाल निर्यात परिषद्बाट प्रतिनिधित्व गरेका श्रेष्ठले नेपाल एलपी ग्यास उद्योग संघबाट प्रतिनिधित्व गरेका शिवप्रसाद घिमिरेलाई तीन मतले पराजित गरे । विजयी श्रेष्ठले ६३ मत ल्याउँदा घिमिरेले ६० मत मात्रै ल्याए ।
वस्तुगततर्फको १३ सदस्यका लागि २६ जना उम्मेदवार रहेका थिए । सदस्यमा सबैभन्दा बढी ७० मत ल्याएर अरनिको राजभण्डारी निर्वाचित भए । वस्तुगततर्फ निर्वाचित हुने अन्य सदस्यहरूमा नानीराज घिमिरे, पशुपतिदेव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रविन पुरी, राजकुमार कार्की (राजु), लिलेन्द्रप्रसाद प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होमप्रसाद घिमिरे रहेका छन् ।
वस्तुगत सदस्यतर्फको प्रतिस्पर्धामा सुरज बन्जाडे, विप्लव अधिकारी, रघुनन्द मारु र नीराजनबहादुर चलाउनेले समान ५०–५० मत ल्याए । उनीहरूको गोलाप्रथाबाट आधा–आधा कार्यकाल चलाउनेछन् । वस्तुगततर्फ महिला सदस्यमा सुनिता न्हेम्हाफुकी निर्वाचित भइन् । त्यस्तै, वस्तुगत महासंघतर्फ विश्वनाथ खनाल र सुनैना घिमिरे निर्वाचित भइन् ।
जिल्ला नगरमा को–को निर्वाचित भए ?
महासंघको जिल्ला नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ निर्वाचित भए । विजयी शर्माले ८७ मत र श्रेष्ठले ८० मत ल्याए । पराजित भएका उमेश डालमियाले ५७ मत र कल्पना गैरेले ३४ मत ल्याइन् । महासंघमा यस कार्यकालदेखि दुईजना जिल्ला नगर उपाध्यक्ष रहने व्यवस्था गरिएको छ ।
जिल्ला नगरतर्फको खुला सदस्यहरूमा अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजू, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, ताराबहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मोहनप्रसाद श्रेष्ठ, लक्ष्मणराज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल विजयी भएका छन् ।
जिल्लानगरतर्फ महिला सदस्यमा गीता अमात्य र हिरा भट्टराई निर्वाचित भएका छन् । त्यस्तै, जिल्ला नगरकै प्रदेश सदस्यतर्फबाट कोशीमा जीवन पराजुली र रमेश विश्वकर्मा, मेधशमा अमरनाथ शाह र विकासकुमार सारडा, बागमतीमा प्रकाश मानन्धर र सविन श्रेष्ठ, गण्डकीमा पवीन्द्रकुमार श्रेष्ठ र सुविन श्रेष्ठ तथा लुम्बिनीमा यज्ञप्रसाद भट्टराई र बालकृष्ण सुवेदी निर्वाचित भएका छन् ।
कर्णालीमा भने पदमबहादुर शाही र पुरीचन्द्र देवकोटा निर्विरोध निर्वाचित भए । त्यस्तै, सुदूरपश्चिममा पीताम्बर जोशी निर्वाचित हुँदा दानबहादुर सुर्मेली र पदमराज चौलागाईंले समान मत पाए । उनीहरूले आधा–आधा कार्यकाल चलाउनेछन् ।