डल्फिन संरक्षणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले थाल्यो पहल

बुधबार, २३ बैशाख, २०८३
डिजिटल संस्करण
डल्फिन संरक्षणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले थाल्यो पहल

तस्बिर : भोजराज ढुंगाना

बर्दिया र कैलालीका नदीमा पाइने डल्फिन संरक्षणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले अभियान संरक्षण सञ्चालन गरेको छ । बर्दिया र कैलालीका नदीमा पाइने डल्फिन संरक्षणका लागि मोहना नदीआसपासको क्षेत्रमा प्रकृति संरक्षण कोषले संरक्षण अभियान सञ्चालन गरेको हो ।

डल्फिन संरक्षणका लागि बर्दिया र कैलालीका केही स्थानीयले  दुई दशकदेखि डल्फिन संरक्षणका लागि काम गर्दै आएका थिए ।

कर्णालीको चिसापानीदेखि कोठियाघाट र वर्षायाममा कैलालीको मोहना, कन्द्रा, पथरैया र काढा नदीमा डल्फिन भेटिन्छन् । जसमध्ये मोहना नदीमा डल्फिन संरक्षणका लागि अभियान थालेको  राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्बाहाम्फेले  बताए ।  उनले भने, ‘मोहना नदीमा रहेका डल्फिन संरक्षणका लागि  सामुदायिक डल्फिन संरक्षण समिति गठन गरेर समुदायलाई सचेत बनाउन जनचेतनामूलक कार्यक्रम गर्ने र डल्फिन संरक्षणका लागि समुदायलाई सक्रिय र जिम्मेवार बनाउन  खोजिएको छ ।’

 स्वच्छ र सफा पानीमा पाइने डल्फिन विकसित मस्तिष्क भएको स्तनधारी प्राणी भएको संरक्षणकर्मी भोजराज ढुंगानाले बताए । ‘दुर्लभ जलचर डल्फिन संरक्षणका लागि समुदायको सहयोग आवश्यक रहेको छ । डल्फिन दुर्लभ जलचर माछा नभएर स्तनधारी प्राणी हो । मानिसजस्तै गर्भधारण गरेर पानीमा नै सालनालसहितको शिशुलाई डल्फिनले जन्म दिन्छ । आफ्नो शिशुलाई डल्फिनले स्तनपान गराउँदछ,’ उनले भने, ‘पानीमा पाइने डल्फिन मानिसको नजिकको मित्र हो। मानवजस्तै विकसित मस्तिष्क भएको यो प्राणी मिलनसार, सहयोगी, चेतनशील, सामाजिक र बुद्धिमान हुन्छ।’ 

राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालले २१ भदौ ०८२ मा  डल्फिन गणना गरेको थियो । गणना गर्दा ५५ वटा डल्फिन देखिएको  संरक्षणकर्मी भोजराज ढुंगानाले जानकारी दिए । डल्फिन संरक्षण र प्रचारप्रसार गर्न सकेमा पर्या–पर्यटनमा एउटा इँटा थप्न सकिन्छ । डल्फिन देखाएर आर्थिक आयआर्जन गर्न सकिन्छ । डल्फिन प्रायः असारदेखि असोजमा बढी देखिन्छ ।

सुझावित समाचार