बर्दियाको डल्ला होमस्टे पर्यटकको रोजाइमा

बुधबार, २३ बैशाख, २०८३
डिजिटल संस्करण

बर्दियाको डल्ला होमस्टेमा पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ। मधुवन नगरपालिका– १, डल्लामा रहेको डल्ला होमस्टे आउने पर्यटकको रोजाइमा पर्न थालेको हो। डल्ला होमस्टेनजिकको सामुदायिक वन र  मध्यवर्ती क्षेत्रमा सजिलै  वन्यजन्तु देख्न पाइन्छ भने डल्लामा स्थानीय थारू परिकार खान पाइने हुँदा पर्यटकको  रोजाइमा डल्ला पर्न थालेको हो । डल्लामा अहिले १८ वटा होमस्टे सञ्चालनमा रहेको छ ।

सुरुको दिनमा भन्दा अहिले होमस्टेमा आउने पर्यटक तराई भू–परिधि कार्यक्रमको सहयोगमा संख्या बढ्दै गएको २४ होमेस्टेका सञ्चालक गोविन्द चौधरीले बताए । उनले भने, ‘सुरुमा दुईवटा कोठाबाट होमेस्टे सुरु गरेको थिएँ । होमेस्टे आउने पर्यटकको संख्या बढ्दै गएपछि अहिले दुईवटा कोठा थपेको छु । यहाँ आउने अधिकांश पर्यटकको रोजाइमा स्थानीय खाना पर्छ ।’ 

शिव सामुदायिक वनका अध्यक्ष एवं १९ नं. होमस्टेका सञ्चालक मंगल थारूले डल्ला होमस्टेमा बेलायतका राजकुमार हेनरी चार्ल्स अल्बर्ट डेभिड ‘ह्यारी’ले दिनभरि डल्ला होमस्टेमा बसेर त्यहाँ स्थानीय कला संस्कृति र केही घरको अवलोकन र स्थानीय परिकारसमेत खाएको बताए । 

उनले भने, ‘विश्वबाट लोपोन्मुख अवस्था रहेका पाटेबाघ, हात्ती र गैँडाजस्ता वन्यजन्तु हेर्न बेलायतको राजकुमार आएपछि डल्लाको प्रचारप्रसार भयो । डल्ला आउने पर्यटक पनि बढे । वन्यजन्तु मारेर होइन, वन्यजन्तु देखाएर पनि आयआर्जन गर्न सकिन्छ भन्ने कुरा समुदायले बुझ्यो । त्यसपछि  समुदायका मानिसहरू पनि वन्यजन्तु संरक्षणको काममा लागे । कोही होमस्टे चलाए । कोही प्रकृति पद प्रदर्शक भए। कोहीले खेतीपाती गरे । प्रत्यक्ष अप्रत्यक्ष गाउँ स्वरोजगार हुने अवसर मिल्यो । धेरैले आर्थिक आयआर्जन गर्न थाले ।’

सुरुमा होमस्टे सञ्चालनको कुक तालिम लगायत अन्य तालिम चलाउनका लागि तराई भू–परिधि कार्यक्रमले सहयोग गरेको थारूले  बताए । उनले भने, ‘तपाईं–हामीले प्रयोग गर्ने  एक सय रुपैयाँको नोटमा  गैँडा, पाँच रुपैयाँमा बाघ र एक हजार रुपैयाँको नोटमा हात्ती छ । नोटमा भएका गैँडा, बाघ र हात्ती निकुञ्जआसपास क्षेत्रमा छ । यसले पनि संरक्षणको महत्त्व देखाउँछ ।’

सुझावित समाचार