प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार बिहीबार साँझ ५ बजेका लागि बैठक बोलाइएको हो।
बैठकमा प्रधानन्यायाधीशको सिफारिसलगायतका महत्त्वपूर्ण संवैधानिक विषयमा छलफल हुने जनाइएको छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका थिए। उक्त अध्यादेशअनुसार अब परिषद्को बैठक बस्नका लागि चार सदस्य उपस्थित भए गणपूरक संख्या पुग्नेछ।
संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ। बैठकमा सहभागी हुनका लागि सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधिसभाका विपक्षी दलका नेता भीमराज आङ्देम्बे र प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ।