विद्यालयहरूमा पनि साताको दुई दिन बिदा दिन पत्राचार

बुधबार, २३ बैशाख, २०८३
डिजिटल संस्करण

शिक्षा विकास तथा समन्वय इकाइ सिराहाले जिल्लाका स्थानीय तह एवं अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई परिवर्तित शैक्षिक सत्र तथा बिदाअनुसार शैक्षिक कार्यक्रम सञ्चालन गर्न पत्राचार गरेको छ । 

जिल्लाका १७ वटै स्थानीय तह तथा सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरूलाई पठाइएको पत्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको च.नं. ४३५, २४ चैत ०८२ को पत्रानुसार ०८३ सालको शैक्षिक सत्र १५ वैशाखबाट थालनी गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को २२ चैत २०८२ को निर्णय र २३ चैतदेखि साताको शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णयअनुसार शैक्षिक गतिविधिहरू सञ्चालन गर्न आग्रह गरिएको छ । 

‘सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा परिवर्तित शैक्षिक सत्र एवं सार्वजनिक बिदाअनुसार शैक्षिक कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने व्यवस्थाका लागि अनुरोध गरिन्छ,’ इकाइ प्रमुख उपसचिव दीपकराज कलौनीद्वारा जारी पत्रमा भनिएको छ, ‘जिल्लाका सबै स्थानीय तह एवं अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई सोहीबमोजिम शैक्षिक गतिविधिलगायत विभिन्न प्रवर्द्धनात्मक र रचनात्मक शैक्षिक कार्यक्रमहरु गर्न–गराउन अनुरोध गरिन्छ ।’

संघीय सरकारले साताको दुई दिन बिदा दिने निर्णय गरेको भोलिपल्टदेखि नै सरकारी कार्यालय तथा सामुदायिक विद्यालयहरूमा कार्यान्वयन भए पनि जिल्लाका कतिपय संस्थागत विद्यालयहरूले विद्यालय पोसाकबिना आइतबार पनि कक्षा सञ्चालन गर्दै आएको पाइएपछि इकाइले पत्राचार गरेको जनाइएको छ । 

सुझावित समाचार