महिला नेतृत्व, उद्यमशीलता र आर्थिक सशक्तीकरणलाई केन्द्रमा राख्दै घोषणापत्र जारी गरेर उद्योग परिसंघ कोशी प्रदेशले सोमबार विराटनगरमा महिला नेतृत्व सम्मेलन सम्पन्न गरेको छ । नेपाल उद्योग परिसंघ (सिएनआई) कोशी प्रदेशको महिला नेतृत्व फोरमको सहकार्यमा आयोजित सम्मेलनले महिलाको बहुआयामिक विकासका लागि नीतिगत सुधार र राज्यको सक्रिय भूमिका आवश्यक रहेको निष्कर्षसहित घोषणापत्र जारी गर्दै नेतृत्व सम्मेलन सोमबार सम्पन्न गरेको हो ।
सम्पन्न सम्मेलनबाट जारी गरिएको घोषणापत्रमा महिलाको राजनीतिक मात्र होइन, आर्थिक, सामाजिक, शैक्षिक र स्वास्थ्य क्षेत्रमा पनि नेतृत्व विस्तार गर्नुपर्नेमा जोड दिइएको छ । यसैगरी महिलालाई नीति निर्माणदेखि उद्यमशीलतासम्म अग्रस्थानमा ल्याउन राज्यले विशेष प्रोत्साहनमूलक नीति ल्याउनुपर्नेमा पनि जोड दिइएको छ ।
कोशी प्रदेशका महिलाहरूको उद्यमशीलता र आर्थिक सशक्तीकरणमा प्राथमिकता दिएर आयोजना गरिएको एकदिने महिला नेतृत्व सम्मेलनबाट महिला उद्यमीलाई सहुलियतपूर्ण कर्जा, अनुदान र तालिमको व्यवस्था गर्नुपर्ने माग गर्दै ग्रामीण महिलालाई कृषि आधुनिकीकरणमार्फत आत्मनिर्भर बनाउनुपर्ने माग पनि गरिएको छ ।
महिलाको आर्थिक सशक्तीकरणविना समावेशी विकास सम्भव छैन, त्यसैले उत्पादनदेखि बजारसम्म पहुँच सुनिश्चित गरिनुपर्छ भन्नेबारे सम्मेलनको घोषणापत्रमा मुख्य जोड दिइएको छ ।
डिजिटल पहुँच र नवप्रवर्तनमा जोड दिँदै सम्मेलनले महिलालाई डिजिटल प्रविधिमा पहुँच विस्तार गर्दै उत्पादन वृद्धि गर्नुपर्ने तथा साना, घरेलु तथा मझौला उद्योगको प्रवर्द्धन गर्न विशेष कार्यक्रम आवश्यक रहेको, जलवायु अनुकूल कृषि, अनुसन्धान र प्रविधि विकासमा लगानी बढाउनुपर्ने र स्वदेशी उत्पादनलाई प्राथमिकता दिई व्यापारघाटा न्यूनीकरण गर्नुपर्नेबारे पनि घोषणापत्रमा सुझाव दिइएको छ।
सम्मेलनले संघ, प्रदेश र स्थानीय तहबिच समन्वय गरेर उद्यमशीलता अभिवृद्धिका लागि कार्यक्रमहरू कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिइएको छ। उक्त्त महिला नेतृत्व सम्मेलनको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उदघाटन गरेका थिए। प्रदेश सरकारका मन्त्री, सचिवहरू, स्थानीय तहका प्रमुख, निजी क्षेत्रका प्रतिनिधि, कार्यालय प्रमुख तथा महिला उद्यमीहरूको सहभागिता थियो । समापन समारोहमा सम्मेलनबाट जारी घोषणापत्र कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रकुमार पौडेलमार्फत सरकारलाई हस्तान्तरण गरिएको थियो । सम्मेलनको छलफलको सहजीकरण बैंकिङ क्षेत्रका विज्ञ अनिलकेशरी शाहले गरेका थिए ।