एमाले सचिव महेश बस्नेतकी श्रीमती अम्बिका बस्नेतसहित दशजनाविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाउन सिफारिस भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले बस्नेतसहित दशविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई सिफारिस गरेको हो ।
घटनाको अनुसन्धानमा संलग्न काठमाडौं परिसरले अनुसन्धान प्रतिवेदन सोमबार नै सरकारी वकिल कार्यालयमा पेस गरेको छ । ‘कुटपिटमा संलग्न अम्बिका बस्नेतसहित दशविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस भइसकेको छ । उनीहरूविरुद्ध ज्यान मार्ने उद्योग कसुरअन्तर्गत मुद्दा चलाउन सिफारिस भएको छ,’ परिसरका प्रवक्ता एसपी पवन भट्टराईले भने ।
गत १४ वैशाखमा माइतीघर मण्डलामा धर्ना बसेकी शोभा पाठकलाई बस्नेतसहितको समूहले आक्रमण गरेको थियो । घटनालगत्तै पाठकले उनीहरूविरुद्ध ज्यान मार्ने उद्योग कसुरअन्तर्गत प्रहरीमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीले बस्नेतसहित दशजनालाई पक्राउ गरेको थियो । उनीहरू अहिले पनि प्रहरी हिरासतमै छन् । झडपमा घाइते पाठकको वीर अस्पतालमा उपचार भएको थियो ।