डिजिटल सदस्यता प्रणालीले कांग्रेसभित्र सूचना प्रवाह सहज बनाउँछ : महामन्त्री पौडेल

मंगलबार, २२ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यता अद्यावधिकका लागि अपनाइएको डिजिटल प्रणालीले पार्टीभित्र सूचना आदान–प्रदानलाई सरल र व्यवस्थित बनाउने बताएका छन्।

पार्टीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा पौडेलले उक्त प्रणालीले पार्टी र सदस्यबिचको सम्बन्धलाई थप सुदृढ बनाउने उल्लेख गरे। उनका अनुसार, यसले सक्रिय सदस्यहरूलाई सामाजिक अभियानमा जोड्न तथा सामाजिक सञ्जालमा पार्टीको पक्षमा पैरवी गर्न सहज बनाउनेछ।

उनले सदस्यता अद्यावधिक प्रक्रिया एकपटक सम्पन्न गरेपछि पुनः दोहोर्याउन नपर्ने जानकारी दिँदै सबै सदस्यलाई आफ्नो वडामा गई अद्यावधिक गर्न आग्रह गरे। साथै, वडामा जान नसक्ने अवस्थामा वडा सभापतिको सहयोगमा अनलाइनमार्फत पनि सदस्यता अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको उनले बताए।

कांग्रेसका अनुसार, डिजिटल प्रणालीले पार्टीका सबै तह र संरचनालाई आपसमा जोड्दै विचार आदान–प्रदान, निर्णयहरूको प्रवाह तथा जनस्तरसम्म पार्टीका कार्यक्रम र योजनाहरू पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।

पार्टीले वडा सभापतिहरूलाई आफ्ना खातामार्फत वडाभित्रका सबै क्रियाशील सदस्यहरूको विवरण अद्यावधिक गर्ने जिम्मेवारी दिएको छ। अभियान उत्साहजनक रूपमा अघि बढिरहेको बताउँदै पौडेलले अभियान सम्पन्न भएपछि सदस्यहरूको विवरण सुरक्षित रूपमा डिजिटल प्रणालीमा अभिलेख रहने विश्वास व्यक्त गरे । 

सुझावित समाचार