पोखराको भाटभटेनी पुनः सञ्चालनमा

मंगलबार, २२ बैशाख, २०८३
डिजिटल संस्करण

जेन–जी आन्दोलनका क्रममा २४ भदौमा भएको आगजनी र तोडफोडका कारण ध्वस्त भएपछि बन्द रहेको पोखरास्थित भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्ट स्टोर पुनः सञ्चालनमा आएको छ। पोखरा– ९, न्युरोडस्थित स्टोर नयाँ लुक्समा पुनः सञ्चालनमा आएको स्टोरको सञ्चालक मीनबहादुर गुरुङले दीप प्रज्वलन गरी कारोबार एवं सेवा सुरु गरेका थिए।पर्यटकीय नगरी पोखराको मुख्य बजारमध्येको एक न्युरोडस्थित सात रोपनी क्षेत्रफलमा फैलिएको चारतले सुविधासम्पन्न आफ्नै भवनमा १३ वर्षअघि स्टोर सञ्चालनमा आएको थियो ।

गुरुङले जेन–जी आन्दोलनका क्रममा स्टोरका १२ शाखा ध्वस्त भएकोमा पोखरामा सञ्चालनमा आएको पाँचौँ शाखा रहेको र अन्य सात शाखा सञ्चालनको तयारी हुँदै गरेको जानकारी दिए । सञ्चालनमा आउन बाँकी रहेका शाखाहरू वैशाखबाटै सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले बताए । 

नुनदेखि सुनसम्म पाइने स्टोरमा घरेलु एवं स्थानीय उत्पादनहरू, अन्तर्राष्ट्रिय गुणस्तरका आयातित सामानहरू, दैनिक उपभोग्य वस्तुहरू, खाधान्न, किचन, तयारी पोसाकहरू, रेडिमेटका विभिन्न सामानहरू, विद्युतीय उपकरणहरू, फर्निचर, खेलौनाहरूलगायतका सबै सामानहरू ग्राहकको रोजाइअनुसार उपलब्ध रहेका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिए। साथै बालबालिकाहरूको मनोरञ्जनका लागि खेल्ने ठाउँ र रेस्टुरेन्टसमेत रहेको स्टोर दैनिक रूपमा बिहान १० बजेदेखि खुल्नेछ ।

राजधानी काठमाडाैपछि स्टोरले १३ वर्षअघि पोखरामा आफ्नो पहिलो शाखा विस्तार गरेको थियो । जुन तत्कालीन अवस्थामा स्टोरको छैटौँ शाखाको रूपमा रहेको थियो । पोखराको स्टोरको मुख्य प्रवेशद्वारको दायाँभित्तामा ‘हे भगवान् ! अबउप्रान्त मेरो देश नेपालमा यस्तो कहिल्यै नहोस्’ लेखिएको बाेर्ड टाँगिएको छ । स्टोर सञ्चालनमा आए पनि बाहिरी भागमा निर्माण र मर्मतको काम भने चलिरहेको छ। 
 

सुझावित समाचार