एक वर्षमा १५६ वन्यजन्तुको उद्धार

सोमबार, २१ बैशाख, २०८३
डिजिटल संस्करण

डिभिजन वन कार्यालय बाँकेले चालू आर्थिक वर्षमा १५६ वन्यजन्तुको उद्धार गरेको छ । यो संख्या गत आर्थिक वर्षभन्दा धेरै हो । बाँकेका विभिन्न जंगल तथा बस्तीमा समस्यामा परेका वन्यजन्तुको उद्धार गरिएको डिभिजन वन कार्यालय, बाँकेका वरिष्ठ वन अधिकृत सुशील सुवेदीले बताए । आर्थिक वर्ष ०८१/८२ मा विभिन्न प्रजातिका १३८ वन्यजन्तुको उद्धार गरिएको उनले बताए । 

०८०/८१ मा ९९, ०७/८० मा ४२ वन्यजन्तुको उद्धार गरिएको बताउँदै उनले ०७८/७९ मा ३१ र ०७७/७८ मा ३४ तथा ०७६/७७ मा १७ विभिन्न प्रजातिका वन्यजन्तुको उद्धार गरिएको जनाए । तथ्यांकअनुसार हरेक वर्ष उद्धार गरिने वन्यजन्तुको संख्या वृद्धि हुँदै गएको देखिन्छ ।

घाइते, टुहुरा, बाटो बिराएर गाउँबस्तीमा पसेका र संकटमा परेका विभिन्न प्रजातिका वन्यजन्तुको उद्धार गरिँदै आएको सुवेदीको भनाइ छ । ‘जिल्लाका विभिन्न स्थानबाट चित्तल, सर्प प्रजातिका गोमन, करेत, पानी सर्प, राजगोमन सर्प, अजिंगर सर्प, सुनगोहोरो, गोही, हुचिल, बँदेल, नीलगाई, कालो बिरालोलगायत वन्यजन्तुको उद्धार गरिएको छ,’ उनले भने, ‘उद्धार गरिएकामध्ये सबैभन्दा धेरै सर्प प्रजातिका छन् ।’

सुवेदीका अनुसार ६८ गोमन, २६ धामन, १९ करेत, नौ अजिंगर, सात रसेल भाइपर, चार पानीसर्प र एउटा राजगोमन छन् । त्यसैगरी आठ गोही, चारवटा सुनगोहोरो, चित्तल चार, नीलगाई तीन र हुचिल, बँदेल तथा कालो बिरालो एक–एकवटा उद्धार गरिएको उनको भनाइ छ । ‘उद्धार गरिएका वन्यजन्तुलाई बाँकेको विभिन्न राष्ट्रिय तथा सामुदायिक वन र केहीलाई बाँके राष्ट्रिय निकुञ्जमा छाडिएको छ,’ सुवेदीले भने । घाइते वन्यजन्तुको उपचार गरी जंगलमा छाडिएको उनले बताए । जंगलमा आहाराको कमी, मानिसको चहलपहल, बाटो बिराएर वन्यजन्तु मानव बस्तीमा प्रवेश गर्ने गरेको बताउँदै उनले पानी पिउन तालतलैया तथा नहरमा जाँदा फस्ने गरेको बताए । 

सुझावित समाचार