कञ्चनपुरका सबै पालिकामा एकसाथ एकै दिन पालिका अधिवेशन हुन लागेको छ । २६ वैशाख (शनिबार) जिल्लाका ९वटै पालिकामा एकसाथ अधिवेशन हुन लागेको हो ।
नेपाल रेडक्रस सोसाइटी पालिकास्तरीय कार्य समिति चयनका लागि अधिवेशन हुन लागेको जनाइएको छ। नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरका कार्यालय प्रमुख मनोजप्रसाद उप्रेतीले पहिलोपटक जिल्लाका ९वटै पालिकामा एकसाथ अधिवेशन हुन लागेको बताए । उनका अनुसार यस अघि जिल्लाका विभिन्न स्थानमा उपशाखाहरू रहेका थिए, अहिले पालिकास्तरमै समिति चयन गर्न लागिएको हो ।
पालिकामा नयाँ कार्य समिति चयनका लागि निर्वाचन कार्यतालिका प्रकाशित भएको छ। सबै पालिकामा मतदाता नामावली प्रकाशन भएको छ । २४ वैशाखमा उम्मेदवारी दर्तापछि २६मा सिधै निर्वाचन हुनेछ ।
बेलडाँडी गाँउपालिका ८१८, बेलौरी नगरपालिका ४९३, पुनर्वास नगरपालिका ५१४, लालझाडी गाँउपालिका १०७,कृष्णपुर नगरपालिका ३११, शुक्लाफाँटा नगरपालिका २८६,बेदकोट नगरपालिका ३१०, भीमदत्त नगरपालिका ९५५ र दोधाराचाँदनी नगरपालिकामा ४८९मतदाता रहेका छन । आ–आफ्नो पालिकामा रेडक्रसको पदाधिकारी नयाँ कार्य समिति चयनका लागि पालिकास्तरमा रेडक्रसकर्मी दौडधुप बढाइरहेका छन्।
जिल्लाभरि रहेका ४ हजार ८३ मतदाताले आ–आफ्नो पालिकामा रेडक्रसका नेता छान्नेछन्। मानवीय सेवा गर्दै आएको परोपकारी संस्था रेडक्रसमा पालिकास्तरमा नयाँ कार्य समिति चयनसँगै विपतदेखिका प्राकृतिक प्रकोपबाट संकटमा परेका मानिसको उद्धार गर्ने अपेक्षा गरिएको छ।