नेपाली साहित्यको प्रवर्द्धन गर्न जर्मनीमा `नेपाली पुस्तकालय´ स्थापना अभियान

आइतबार, २० बैशाख, २०८३
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), जर्मनीले नेपाली भाषा, साहित्य र पठन संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले “नेपाली पुस्तकालय स्थापना गर्ने अभियान सुरु गरेको छ। ३० अप्रिल २०२६ मा सम्पन्न कार्यसमिति बैठकले  अभियान सुरु गर्ने निर्णय गरेको हो।

 योजनाअनुसार जर्मनीका विभिन्न सहरहरूमा सबैका लागि सहज पहुँच हुने गरी पुस्तकालय स्थापना गरिने अनेसासले जनाएको छ। पुस्तकालयले विदेशमा रहेका नेपाली समुदायबीच साहित्यिक गतिविधि बढाउनुका साथै नयाँ पुस्तालाई नेपाली भाषा र संस्कृतिसँग जोड्ने अपेक्षा गरिएको छ।

अनेसास जर्मनीले यस अभियानलाई सफल बनाउन जर्मनी तथा छिमेकी देशहरूमा बसोबास गर्ने साहित्यप्रेमी, पाठक तथा शुभेच्छुकहरूसँग सहयोगको अपिल गरेको छ। विशेषगरी, पढ्न मिल्ने अवस्थामा रहेका पुराना तथा नयाँ नेपाली पुस्तकहरू प्रदान गरेर सहयोग गर्न आग्रह गरिएको छ।

यसका साथै, पुस्तकालयको स्थापना, व्यवस्थापन तथा सञ्चालनका लागि आवश्यक आर्थिक सहयोग पनि अपेक्षित रहेको जनाइएको छ। संस्थाले सानो सहयोगले पनि ठूलो परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गरेको छ।

सहयोग गर्न इच्छुक व्यक्तिहरूले [email protected] मार्फत सम्पर्क गर्न सक्नेछन् वा अनेसास जर्मनीको आधिकारिक फेसबुक पेजमा सन्देश पठाउन सक्ने संस्थाले जनाएको छ। 

अनेसास जर्मनीको यो पहलले विदेशमा नेपाली भाषा र साहित्यको जगेर्ना गर्दै पठन संस्कृतिलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
 

सुझावित समाचार