नेपाल टेलिकमले देशका विभिन्न विकट तथा दुर्गम क्षेत्रमा पनि सेवा प्रदान गर्दै आएको छ । टेलिकमले स्याटेलाइट प्रविधिमा आधारित जिएसएम मोबाइल तथा भिस्याट टेलिसेन्टर उपकरण जडान गरी टुजी प्रविधिमा आधारित जिएसएम मोबाइल, टेलिफोन र डेटा सेवा प्रदान गर्दै आएको हो । टेलिकमका अनुसार चालू आर्थिक वर्षमा डोल्पा जिल्लाको उपल्लो डोल्पास्थित कान्छो गाउँ कुगाउँ तथा निजाल, च्छो–रोल्पा पदमार्ग रहेको दोलखाको ना–गाउँ र गोसाइँकुण्ड पदमार्ग रहेको रसुवाको चन्दनबारी गरी चार स्थानमा स्याटेलाइट प्रविधिमा आधारित जिएसएम मोबाइल सेवा विस्तार गरिएको छ ।
हाल टेलिकमले विभिन्न ३८ स्थानमा यो प्रविधिबाट मोबाइल सेवा प्रवाह गरिरहेको छ । यो प्रविधिका सबैभन्दा बढी अर्थात् १४ साइट डोल्पामा छन् । डोल्पाको छार्का–ताङसोङ, छार्का, धो, घुन्सापास, कलाङ, मुकोट, निजाल, फोक्सुन्डो, साल्दाङ, सिम्बाडाँडा, सिमेन्कोमास, तिन्जे, भिजेर र कुगाउँमा यी साइट छन् । यस्तै, हुम्लाको गोठी, राया, रोडीकोट, श्रीनगर र श्रीमष्ट तथा मुगुको मुगुगाउँ, पुलु, रारा (मुर्मा), सोरुकोट र भी गरी पाँच–पाँच स्थानमा साइट रहेको बताइएको छ ।
यसैगरी, मनाङको भीमथाङ, फुर नार, दोलखाको बेदिङ र ना–गाउँ (च्छो–रोल्पा), ताप्लेजुङको घुन्सा र ओलाङचुङगोला, सोलुखुम्बुको गोरक्छेप र मोन्जु, रसुवाको गोसाइँकुण्ड र चन्दनबारी तथा दार्चुलाको टिंकर, बाजुराको बिच्छा र जुम्लाको गुठीचौरमा पनि साइट रहेको टेलिकमले जनाएको छ । सहरी र सुगम क्षेत्रमा मात्र नभई अत्यन्त विकट तथा जनसंख्याको कोणबाट निकै कम मानिस रहने दुर्गम बस्तीमा सेवा उपलब्ध गराउन भिस्याट प्रविधिको प्रयोग गरिएको जनाइएको छ । ‘यस्ता दुर्गम बस्तीहरूमा सेवा उपलब्ध गराउन कम्पनीले हेलिकोप्टरबाट उपकरण र सामान ओसारेरसमेत दूरसञ्चार सेवा उपलब्ध गराउँदै आएको छ । आगामी दिनमा यी साइटलाई अन्य प्रविधिमार्फत स्तरोन्नति गर्ने कार्य गरिनेछ,’ टेलिकमले विज्ञप्तिमा भनेको छ ।
यो काम नेपाल टेलिकमद्वारा कार्यान्वयन भइरहेको ब्याकबोन ट्रान्समिसन परियोजनाअन्तर्गत भइरहेको हो । त्यसैगरी, ब्याकबोन प्रसारण निर्देशनालयअन्तर्गत सञ्चालित अप्टिकल फाइबर नेटवर्कको विस्तारमार्फत पूर्व–पश्चिम तथा उत्तर–दक्षिण करिडोरसँगै प्रमुख सहरी, अर्धसहरी तथा ग्रामीण क्षेत्रहरूमा उच्च क्षमतायुक्त, सुरक्षित तथा भरपर्दो डेटा ट्रान्समिसन सेवा सुनिश्चित गर्न आवश्यक कार्यसमेत भइरहेको टेलिकमले जनाएको छ ।
निर्देशनालयअन्तर्गत ब्याकबोन सुदृढीकरण कार्यक्रमका विविध गतिविधि चरणबद्ध रूपमा कार्यान्वयन भइरहेको बताइएको छन् । यसअनुसार विभिन्न स्थानमा अप्टिकल फाइबर केबल (ओएफसी) सर्भे, एडिएसएस ओएफसी विस्तारलगायतका कार्य भएको टेलिकमले उल्लेख गरेको छ । सडकमा अन्डरग्राउन्ड ओएफसी विस्तार, विकट ग्रामीण क्षेत्र तथा विभिन्न सडकहरूमा अप्टिकल फाइबर ट्रान्समिसन नेटवर्क विस्तारको काम पनि भइरहेको छ ।
उपकरण तथा नेटवर्क सुदृढीकरणतर्फ उच्च क्षमतायुक्त राउटर तथा डिडब्लुडिएम उपकरण जडान तथा स्थानान्तरणमार्फत नेटवर्क क्षमतामा उल्लेखनीय अभिवृद्धि गरिएको पनि बताइएको छ ।