- जिल्लाको पूर्वोत्तरी क्षेत्रका स्वामी कार्तिक, जगन्नाथ र हिमाली गाउँपालिका तथा बुढीनन्दा नगरपालिकाका बासिन्दाका लागि सदरमुकाम पुग्ने एक मात्र मुख्य मार्ग कालोपत्रे नहुँदा आवतजावतमा निरन्तर कठिनाइ । ठेकेदार कम्पनी बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको बानियाँ–कुलेश्वर जेभी ।
बाजुराको पूर्वोत्तरी क्षेत्रलाई सदरमुकाम मार्तडीसँग जोड्ने मार्तडी–कोल्टी सडक शिलान्यास भएको २६ वर्ष बितिसक्दा पनि पूर्ण कालोपत्रे हुन नसक्दा यस क्षेत्रमा बासिन्दाले आवतजावतमा निरन्तर कठिनाइ भोग्दै आएका छन् । मार्तडी–कोल्टी सडक जिल्लाको पूर्वोत्तरी क्षेत्रका स्वामी कार्तिक, जगन्नाथ र हिमाली गाउँपालिका तथा बुढीनन्दा नगरपालिकाका बासिन्दाका लागि सदरमुकाम पुग्ने एक मात्र मुख्य मार्ग हो ।
सदरमुकाम जोड्ने यो सडकको ट्र्याक खुलेको कच्ची सडकमा यातायातका साधन सञ्चालन हुने गरे पनि ती नियमित छैनन् । सडक खण्डमा पर्ने नदी तथा खोलाहरूमा पुल निर्माण नहुँदा बर्खायाममा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध हुने गरेको छ ।
कच्ची सडक, बर्खायाममा बारम्बार अवरुद्ध हुने अवस्था र नियमित सार्वजनिक यातायात नचल्ने समस्याका कारण लामो समयदेखि कठिनाइ भोग्दै आएको स्थानीयवासीले बताएका छन् । उनीहरूका अनुसार सडक अभाव र कमजोर अवस्थाका कारण यी क्षेत्रमा उत्पादन हुने स्याउ, आलुलगायत कृषि उत्पादन बजारसम्म पुर्याउनसमेत समस्या हुने गरेको छ ।
जगन्नाथ– ६, काब्रीका ७५ वर्षीय कर्ण बुढाले वर्षौँदेखि सडक कालोपत्रे हुने आशा अधुरै रहेको बताए । निर्माण कार्य लामो समयदेखि अलपत्र परेको उनको भनाइ छ । ठेक्का लिएर समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गरी नयाँ ठेक्का प्रक्रियामार्फत काम अघि बढाउनुपर्ने उनको माग छ ।
त्यस्तै, स्थानीय हिरालाल पाध्यायले सडकको खराब अवस्थाका कारण यात्रुवाहक सवारीसाधन नियमित सञ्चालन हुन नसक्दा ठुलो समस्या भइरहेको बताए । बर्खायाममा सडक पूर्ण रूपमा बन्द हुने र सञ्चालन हुँदा पनि जिप व्यवसायीले यात्रुबाट दोब्बर–तेब्बर भाडा असुल्ने गरेको उनको गुनासो छ ।
चार वर्षभित्र कोल्टीसम्म गाडी पुर्याउने लक्ष्यसहित ७ फागुन ०५६ मा तत्कालीन जिल्ला विकास समितिका सभापति लालबहादुर थापाले सडकको शिलान्यास गरेका थिए । शिलान्यासपछि वर्षौँको प्रतीक्षापछि मात्र ट्र्याक खोल्ने काम सम्पन्न भयो । तर, सडक कालोपत्रे गर्ने काम भने अझै अघि बढ्न सकेको छैन । स्थानीयका अनुसार ट्र्याक खोल्ने काम पूरा हुन मात्र करिब १२ वर्ष लागेको थियो ।
सडक स्तरोन्नति तथा कालोपत्रे भएमा छिमेकी हुम्ला, जुम्ला, मुगु र कालीकोट जिल्लाका बाजुरासँग जोडिएका बस्ती पनि प्रत्यक्ष लाभान्वित हुने स्थानीय बताउँछन् । हाल हिउँदका करिब ५–६ महिना मात्र साना सवारीसाधन सञ्चालन हुने भएकाले बर्खामा सदरमुकाम पुग्न अझै पनि अत्यन्त कठिनाइ हुने गरेको उनीहरू बताउँछन् ।
सुदूरपश्चिम सरकारको गौरवको आयोजना, तर अपेक्षित काम हुन सकेन
सुदूरपश्चिम सरकारले यो सडक निर्माणलाई गौरवमा राखेर अगाडि बढाए पनि अपेक्षित काम हुन सकेको छैन । प्रदेश सरकारले मार्तडी–कोल्टी सडकलाई तीनवटा खण्डमा छुट्याएर कालोपत्रेको ठेक्का गरेको थियो । तर, निर्माण कम्पनीको ढिलासुस्तीका कारण काम अलपत्र छ ।
प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास कार्यालय, अछामका अनुसार नौ किलोमिटर सडक कालोपत्रे भएको छ । ३१ किलोमिटर सडक कालोपत्रेका लागि दुईपटक म्याद थप भएर निर्धारितभन्दा दोब्बर अवधिसम्म भौतिक प्रगति ५० प्रतिशतहाराहारी मात्र छ । कोल्टीदेखि चुथीसम्मको नौ किलोमिटर सडक डेढ वर्षअघि कालोपत्रे पूरा भएको हो ।
चुथीदेखि ढम्कने खण्डको पाँच किलोमिटर सडक कालोपत्रे गर्न दोस्रोपटक थपिएको अवधि आगामी असारमा सकिँदै छ । तर, भौतिक प्रगति ५० प्रतिशत मात्र रहेको पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जंगबहादुर थापाले बताए । १२ करोड १२ लाख रुपैयाँ लागतमा यो खण्ड कालोपत्रेको ठेक्का बानियाँ–कुलेश्वर जेभीले पाएको छ । बानियाँ कन्स्ट्रक्सन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको निर्माण कम्पनी हो ।
९ कात्तिक ०७६ मा भएको सम्झौताअनुसार १७ असार ०७९ सम्म यो खण्डको पाँच किलोमिटर सडक कालोपत्रे भइसक्नुपर्ने थियो । तर, हालसम्म सबबेस राख्ने काम मात्र भएको छ । कामलाई तीव्रता दिन र समयमै पूरा गर्न पटक–पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले वास्ता नगरेको पूर्वाधार विकास कार्यालय प्रमुख थापाले बताए । ‘काम भइरहेको छ, तर निकै सुस्त गतिमा,’ उनले भने, ‘दोस्रो खण्डको अवस्था पनि उस्तै छ ।’
ढम्कनेदेखि कोल्टीको तानसाँघुसम्म २६ किलोमिटर सडक कालोपत्रेको ठेक्कामा पनि मुख्यमन्त्री बानियाँको बानियाँ कन्स्ट्रक्सन जोडिएको छ । यो खण्ड निर्माणका लागि पिएस–बानियाँ जेभीसँग २९ असार ०७७ मा निर्माण सम्झौता भएको थियो । तर, तोकिएभन्दा दोब्बर समयसम्म आधा काम मात्र भएको छ । सुरुको सम्झौताअनुसार १६ असार ०८० भित्र काम पूरा हुनुपर्ने हो । पूर्वाधार कार्यालयका अनुसार यो खण्ड निर्माण गर्न ५० करोड १७ लाखमा सम्झौता भएको थियो ।
यो खण्डमा पनि दुईपटक म्याद थप गर्दासमेत भौतिक प्रगति ५० प्रतिशत मात्र रहेको थापाले बताए । निर्माण कम्पनीले कामलाई गति नदिए पनि यसको निर्माण अवधि बढाएर वैशाख ०८४ सम्म पुर्याइएको छ । कतिपय योजना बजेट अभावका कारण प्रभावित हुँदा यो सडक निर्माणका लागि भने बजेटको अभाव नरहेको कार्यालयले जनाएको छ । निर्माण कम्पनीले काममा ढिलाइ गर्नुको कारण ‘लो–बिडिङ’ पनि रहेको प्राविधिक बताउँछन् ।
‘बजेटको कमीले ढिलो भएको होइन, निर्माण कम्पनीले काम नगर्दा ढिलो भएको हो । बजेट त आइराखेकै छ, निर्माण कम्पनीले काम गरिदिन्न,’ पूर्वाधार विकास कार्यालयका प्रमुख थापाले भने, ‘यही गतिमा काम हुने हो भने काम सकिन सात–आठ वर्ष अझै लाग्छ ।’ मार्तडी–कोल्टी सडक कालोपत्रेका लागि गत वर्ष प्रदेश सरकारले १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, काम नहुँदा डेढ करोड बजेट मात्र खर्च भएको प्रमुख थापाले बताए ।
चलू वर्षमा पनि २० करोड बजेट विनयोजन गरिएको छ । तर, निर्माण कम्पनीले हालसम्म काम नै गरेको छैन । जसले गर्दा हालसम्म एक करोड रुपैयाँभन्दा कम खर्च भएको कार्यालयले जनाएको छ । निर्माण कम्पनीले ढिलासुस्ती गरे पनि ठेक्का तोड्नका लागि पूर्वाधार कार्यालयले साढे दुई साताअघि सूचना जारी गरेर ठेक्का नतोड्नुको कारणसहित जवाफ मागेको थियो ।
कार्यालयका अनुसार इन्धनको मूल्य बढेको, खोलाहरूमा पुल नभएकाले बर्खामा काम हुन नसकेकोलगायत कारणले ढिलाइ भएको भनेर निर्माण कम्पनीले स्पष्टीकरण बुझाएका छन् । ‘स्पष्टीकरण मागिसकेका छौँ, काममा निकै ढिलासुस्ती भएकाले ठेक्का तोडेर जानेबारे छलफलमा छौँ,’ थापाले भने । कोल्टी क्षेत्रमा पर्ने दुई किलोमिटर सडक भने कालोपत्रेका लागि ठेक्का हुन नसकेको उनले बताए ।
यो सडक खण्डमा पर्ने पाँचवटा पुलमध्ये प्रदेश सरकारको लगानीमा अनाई खोलामा पुल निर्माणको काम सकिएको छ । अन्य तीन ठाउँमा प्रदेश र एक ठाउँमा संघीय सरकारको लगानीमा पुल निर्माणको काम भइरहेको छ ।