प्रज्ञा-प्रतिष्ठानको आयोजनामा रोल्पाको थबाङमा ‘प्रगतिशील संगीत उत्सव’ सुरु

शनिबार, १९ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको आयोजनामा रोल्पाको थबाङमा ‘प्रगतिशील संगीत उत्सव- २०८३’  सुरु भएको छ ।

रोल्पा कला साहित्य प्रतिष्ठानको सहआयोजना र थबाङ गाउँपालिकाको मुख्य प्रायोजनमा हुने दुईदिने कार्यक्रममा शनिबार ‘नेपाली समाजमा प्रगतिशील संगीत’ विषयक सेमिनार गरिएको प्रज्ञा-प्रतिष्ठानका सदस्सचिव कुश्मा महरा ‘प्रगति’ले जानकारी दिइन् ।

‘प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि...’ भन्ने नारासहित आयोजित कार्यक्रमको लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले पानसमा बत्ती बालेर उदघाटन गरे । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्तीले दार्शनिक मान्यतालाई गम्भीरतापूर्वक नबुझ्दा अहिले समस्या आएको बताए ।

विचार, राजनीति र दर्शनशास्त्रमा खराबी नभए पनि आफूहरूकाे आचरणमा धेरै विचलन आएको उनको दाबी छ । उनले सांस्कृतिककर्मीहरूले गलत आचरणविरुद्ध सशक्त आवाज उठाउनुपर्ने आवश्यकता औँल्याए ।

शनिबार जनसांस्कृतिक महासंघका अध्यक्ष भीम कुमाखी र रोल्पा कला प्रतिष्ठानका अध्यक्ष जीवन रोकामगरले कार्यपत्र प्रस्तुत गरेका छन् भने रोल्पानिवासी डिबी स्वेदको गजलसङ्ग्रह ‘सफर’को लोकार्पण गरिएको छ ।

उत्सवमा देशभरबाट प्रगतिशील लेखक, संगीतकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ । जीवन शर्मा, मधु गुरुङ, उदय श्रेष्ठ, हेमराज आश्रम, सीता आचार्यलगायतको उपस्थिति रहेको छ ।

आइतबार थबाङ खुलामञ्चमा प्रगतिशील गीतसंगीतसहितको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएको छ । शनिबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ले उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यक्रम भए पनि रोल्पाको जलजलामा भएको जिप दुर्घटनामा रुकुमपूर्वका आफ्ना मतदाताको मृत्यु भएपछि उनले उपस्थिति जनाएनन् भने कार्यक्रमको रूपरेखासमेत परिवर्तन गर्नुपरेको प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव कुश्मा महराले जानकारी दिइन् ।

सुझावित समाचार