वैशाख १९ देखि २५ गतेसम्मको साप्ताहिक राशिफल

शनिबार, १९ बैशाख, २०८३
डिजिटल संस्करण
  • ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको वैशाख १९ गते शनिबारदेखि २५ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साताको प्रारम्भ नै भेटघाट एवं मनोरञ्जनमा बित्नेछ । मेवामिष्ठान्न आदि खान पाइने र मनोरञ्जनमा रमाउने योग रहेको छ । आत्मविश्वास गर्ने क्षमता बढ्ने हुनेछ । साताको अन्त्यमा सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । विगतका कमजोरी सम्झने समय होइन, बुद्धिको उपयोग गरी भाग्य बढाउने समय छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) साताको प्रारम्भमा गरिएका जुनसुकै काममा सफलता प्राप्त हुनेछ । शत्रुले तपाईंको छवि बिगार्ने प्रयास गरे पनि तिनको क्रियाकलापले उल्टै उनीहरूकै हानि हुनेछ । बुधबारदेखि व्यावसायिक स्थितिमा सुधार आउनेछ । साताको अन्त्यमा लामो व्यावसायिक यात्राको योग रहेको छ । जीवनसाथीसँग समझदारी बढ्नेछ, तर व्यस्तताका कारण समय दिन कठिन हुन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) घरायसी वातावरणमा केही धमिलोपन आउने समय रहेको छ । सामान्य कुराले पनि मन पिरोल्नेछ । मानसिक अशान्ति र बेचैनी हुने योग छ । पढाइलेखाइमा जाँगर चल्नेछैन । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । अनाहकमा अरूले गरेका गल्तीको पनि सजाय भोग्नुपर्ने अवस्था आउला । नातेदारले अपमानित तुल्याउन सक्ने योग रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफन्तबाट सहयोग र हौसला प्राप्त हुनेछ । प्राप्त गरेको ज्ञान अरूलाई बाँड्दा आत्मबल बढ्नेछ । व्यावसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । अभिभावकवर्गको आशीर्वादले काम गर्न सकिनेछ । राम्रो समाचार सुन्न पाउनु हुनेछ । प्रेममा सन्तोष र आत्मीयता बढ्नेछ । परिवारको समर्थनले सम्बन्ध अझ बलियो बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साताको सुरुमै भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने योग रहेको छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । दीनदुःखीलाई दिएको सानो सहयोगले रोकिएको काम बन्न सक्छ । पशुपालक र दुग्ध व्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । साताको अन्त्यमा सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । साथी वा जीवनसाथीसँग रमाइलो समय बित्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) धार्मिक तथा सामाजिक कामको दायित्व थपिन सक्छ । घरायसी बन्दोबस्तका सामान र सुनचाँदीजस्ता धातुको कारोबारबाट लाभ मिल्नेछ । साताको अन्त्यमा नातेदार र कुटुम्वले तपाईंको काममा सहयोग गर्नेछन् । साताको अन्त्यमा आकस्मिक रूपमा स्वास्थ्यमा समस्यासमेत आउन सक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । प्रेममा सानो विवाद हुन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) साताभर अन्न, फलफूल आदि कृषिजन्य व्यवसायबाट मनग्ये फाइदा हुने योग रहेको छ । नोकरीबाट असन्तोष बढ्नेछ । अनावश्यक खर्चतर्फ मन आकर्षित बन्नेछ । साताको अन्त्यमा कुनै नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने स्थगित राख्नु राम्रो हुन्छ । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुनेछ । मित्रशक्ति र कुटुम्वबाट साथसहयोग पाइनेछ । प्रेममा मिश्रित परिणाम आउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) साताको प्रारम्भमा विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । आफन्तको सहयोगमा महत्वपूर्ण कार्य सम्पादन हुनेछ । बिहीबार पारिवारिक समस्याले मन खिन्न हुनेछ । दीर्घकालीन लगानीले पिरोल्न सक्छ । साताको अन्त्यमा अकस्मात् धनप्राप्तिको योग रहेको छ । समयलाई उपयोग गर्न सके राम्रो फाइदा लिन सकिनेछ । समग्रमा यो साता मध्यम खालको समय छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) धर्मकर्ममा रुचि बढ्ने योग छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । तपाईंका कामको उच्च मूल्यांकन हुने संकेत छ । बोलीको कदर हुनेछ । शुक्रबार प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । साताको अन्त्यमा प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । प्रयाससाध्य समय छ, धैर्य गरी मिहिनेत गर्नुपर्नेछ । प्रेममा प्रगति र समझदारी बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । विगतमा गरिएको श्रमको समुचित मूल्यांकन हुनेछ ।  साताको अन्त्यमा आलोचनाबाट बच्ने प्रयास गर्नुहोला । शुभ समाचार प्राप्त हुनाले मन फुरुंग हुनेछ । समयलाई उपयोग गर्न सके राम्रो फाइदा लिन सकिनेछ । समग्रमा यो साता मध्यम खालको समय छ । प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) साताको प्रारम्भमा आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन् । उत्साहपूर्वक काम गर्ने समय रहेको छ । यात्राको योग रहेकाले तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुनुका साथै मनोरञ्जन प्राप्त पनि होला । साताको अन्त्यमा सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । इष्टदेवको पूजा–उपासना गरी अगाडि बढ्दा फाइदा हुने देखिन्छ । प्रेममा रमाइलोपन र नयाँपन आउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) साताको प्रारम्भमा चोटपटकको भय हुनेछ । बोलीको प्रतिकूल एवं विपरीत अर्थ लाग्ने हुँदा सचेतता एवं संयमता अपनाउनु अत्यावश्यक छ । पछाडि कुरा काट्नेहरूले षड्यन्त्रको तानाबाना रच्ने प्रयास गर्नेछन् । साताको अन्त्यमा नातागोताको कामधन्दामा सरसहयोग गर्दा सन्तुष्टि प्राप्त हुनेछ । अधुरा काम सुचारु हुनेछन्, सामाजिक प्रतिष्ठा बढ्नेछ । प्रेममा सुरुवातमा तनाव भए पनि अन्त्यमा सुधार आउनेछ । 

See More On

सुझावित समाचार