बाह्रसिंगा ब्याडमिन्टन प्रतियोगिता सुरु

शुक्रबार, १८ बैशाख, २०८३
डिजिटल संस्करण

कञ्चनपुरको महेन्द्रनगरमा प्रथम सुदूरपश्चिम प्रदेशस्तरीय बाह्रसिंगा ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। शुक्रबारदेखि भीमदत्त नगरपालिका– ४, महेन्द्रनगर कभर्डहलमा प्रदेशस्तरीय बाह्रसिंगा ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो।

पश्चिमपाटी मिडियाको आयोजनामा सुरु भएको प्रतियोगिताको शुक्रबार कञ्चनपुर जिल्ला अदालतका मुख्य न्यायाधीश राजेन्द्र भण्डारीले मुख्य रेफ्रीलाई कर्क हस्तान्तरण गरेर उद्घाटन गरेका हुन्।

प्रतियोगिता संयोजक शेरबहादुर सिंहका अनुसार प्रतियोगितामा ‘बी’ लेभलमा ४८ वटा र भेट्रानमा ३२ वटा टिमबिच प्रतिस्पर्धा हुनेछ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रख्यात बाह्रसिंगाको प्रवर्द्धन गर्नका लागि पहिलोपटक सुदूरपश्चिम प्रदेशस्तरीय बाह्रसिंगा ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको उनले बताए।

‘सुदूरका कैलाली, कञ्चनपुरलगायत विभिन्न जिल्लाबाट ८० वटा टिम सहभागी भएका छन्,’ उनले भने, ‘खेल पर्यटनका माध्यमबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र प्रख्यात बाह्रसिंगाको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेका हौँ।’

प्रतियोगिताले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रसिद्ध बाह्रसिंगाको प्रवर्द्धन गर्नुका साथै सुदूरपश्चिममा लुकेका खेल प्रतिभाहरूलाई उजागर गर्दै खेलकुदको विकासमा टेवा पुर्याउने लक्ष्य राखेको सिंहको भनाइ छ। 

प्रतियोगितामा ‘बी’ लेभलतर्फ प्रथम हुने टिमले ४४ हजार ४४४, द्वितीय हुने टिमले २२ हजार २२२ र तृतीय हुने टिमले ११ हजार १११ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। भेट्रानतर्फ प्रथम हुने टिमले १५ हजार ५५५, द्वितीय हुने टिमले सात हजार ५५५ र तृतीय हुने टिमले पाँच हजार ५५५ नगदसहित मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ।
 

सुझावित समाचार