फिल्म ‘काजी’को ‘वारि बर पारि पीपलु’ बोलको पहिलो गीत सार्वजनिक भएको छ। फिल्म निर्माण टिमले काठमाडौंमा कार्यक्रम गर्दै गीत सार्वजनिक गरेकाे हाे।
चर्चित संगीतकार कालीप्रसाद बाँस्कोटाको शब्द तथा संगीत रहेको गीत गंगा सोनाम र करण परियारले गाएका छन् । उनीहरू दुवैजना नेपाल आइडलका विजेता हुन् ।
पति–पत्नीबिचको प्रेमकथा रहेको गीतको भिडियोमा अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारी किसानको भूमिकामा देखिएका छन्। फिल्मकै कथामा गीतको छायांकन गरिएको छ। जसमा उनीहरूकाे प्रेमिल दैनिकीसँगै बिहानको पूजापाठदेखि खेतबारीको कामको दृश्य समेटिएको छ।
रिजाल एन्ड रिजाल प्रोडक्सनको प्रस्तुति रहेको फिल्म लक्ष्मण रिजालले निर्देशन गरेका हुन्। केकी र विपिनसहित फिल्ममा गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीपबाबु लोहनी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रीतिका शर्मा, प्रशंसा सुवेदी, नवराज गिरी र बाल कलाकार दीक्षिता अर्याल, आरब बराल, सुपला सापकोटालगायत कलाकारले अभिनय गरेका छन्।
निर्माण टिमका अनुसार फिल्म भावनात्मक तथा सामाजिक कथामा आधारित छ, जसले मानवीय सम्बन्ध, माया, पीडा र जिम्मेवारीका विभिन्न पाटाहरूलाई उजागर गर्ने प्रयास गरको छ।
फिल्म यही जेठ ८ गत देशभर प्रदर्शन हुनेछ । प्रदीप भारद्वाजको कथालेखन रहेको फिल्म राज भण्डारीले छायांकन गरेका हुन्।
फिल्ममा कालीप्रसाद बाँस्कोटाको संगीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, रंग संयोजक श्याम कुँवर र सुजिल कर्माचार्यको पार्श्व संगीत, नृत्य निर्देशक कविराज गहतराज, प्रोडक्सन हेड प्रकाश हमाल, सम्पादन सुपरभाइजर बनिश शाह र सम्पादक विपिन मल्ल रहेका छन् ।
असिम काफ्ले कार्यकारी निर्माता रहेको सिनेमाका निर्मातामा रामप्रसाद रिजाल, नेहान रिजाल र विकाशराज जोशी छन् ।