नेपालमा मेडिकल उपकरणको बजार मूल्य, गुणस्तरीयता र खरिद प्रक्रियाबारे प्रश्न उठ्नुको कारण के होला ?
नेपालमा गुणस्तरीय उपकरण छैनन् भन्ने होइन, गुणस्तरीयता मापन गर्ने निकायचाहिँ छैन । यहाँ आउने सामान सबै खराब छन् भन्न मिल्दैन । यहाँ अति गुणस्तरीय र भर्खर उत्पादन भएका अत्याधुनिक उपकरण पनि आइपुग्छन् । तर, कतिपय उपकरणको गुणस्तरीयता जाँचेरचाहिँ ल्याउनुपर्ने हो, तर त्यसमा सरकारको कमजोरी छ । सरकारले गुणस्तरीयता मापन नगर्दा सरकार स्वयंले खरिद गरेका उपकरणको गुणस्तरीयतामाथि समेत प्रश्न उठ्ने गरेको छ । औषधि व्यवस्था विभागले पनि प्रभावकारी रूपमा गुणस्तरीयता मापन गर्न सकेको छैन ।
भृकुटीमण्डपमा भइरहेको मेडिकल उपकरणसम्बन्धी प्रदर्शनीमा केकस्ता उपकरण र प्रविधि राखिएका छन् ?
प्रदर्शनीमा औषधीबाहेक मेडिकल उपकरण, ल्याब्रोटरी उपकरण, कन्जुमर, सर्जिकल, डर्म्याटोलोजीका उपकरणलगायत ठुल्ठुला मेसिन र नयाँ प्रविधियुक्त स्रोतसाधन एकै छातामुनि राखिएका छन् । एक्स्पोमा स्वास्थ्य क्षेत्रमा चाहिने औषधिबाहेकका सबै सामान राखिएका छन् । दुनियाँमा केकस्ता मेडिकल उपकरण तथा प्रविधिको विकास भइरहेको छ, त्यसबारे जान्न पनि यो एक्स्पोले सहयोग गर्नेछ । यहाँ सिटी, एमआरआईदेखि ल्याबका सबै प्रविधि राखिएका छन् । सुगर, मुटु, ब्लड प्रेसर चेक गर्ने सामान्यदेखि ठुल्ठुलासम्म मेसिन छन् । उपभोक्ताले यहाँ राखिएका सामान रोजेर अर्डर गर्न सक्छन् ।
यो प्रदर्शनबाट नेपाललाई के फाइदा पुग्छ ?
यो स्वास्थ्य क्षेत्रका नभई नहुने उपकरणको प्रदर्शनी हो । स्वास्थ्य क्षेत्रमा नयाँ प्रविधि खोज्न तथा त्यसबारे अनुसन्धान गर्न विदेश नगई यहीँबाट राम्ररी बुझ्न सकिन्छ । यहाँ स्वास्थ्य क्षेत्रमा आविष्कार भएका नयाँनयाँ औजार र उपकरण राखिएका छन् । साथै यहाँ एआईद्वारा सञ्चालन हुने अत्याधुनिक उपकरणसमेत छन् । पछिल्लो समय स्वास्थ्यमा एआईको प्रयोग पनि बढ्दो छ । नेपालमा पनि एआईजडित उपकरणको माग बढेको पाइन्छ ।