पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महतको हकमा मुद्दा मुलतबी राख्न विशेष अदालतमा निवेदन परेको छ । उनकी श्रीमती रोशना महतले बिहीबार इजलासमा पेस हुने निवेदन दिएकोमा बुझ्ने आदेश भएको छ ।
अभियुक्त मानसिक अस्वस्थताका कारणले आफ्नो प्रतिरक्षा गर्न असमर्थ देखिएमा त्यसको पर्चा खडा गरी निजको हकमा मुद्दा मुलतबी राख्नुपर्नेछ भन्ने प्रावधान रहेको अवस्था हुँदा सो प्रयोजनका लागि निज डा. रामशरण महतको स्वास्थ्य अवस्थाको सम्बन्धमा वीर अस्पतालको मेडिकल बोर्डबाट जाँच गराई सोको प्रतिवेदनसहित नियमानुसार प्रस्तुत निवेदन इजलाससमक्ष पेस गर्नू,’ आदेशमा छ ।
विशेषका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले यस्तो आदेश गरेको हो । महतमाथि गैरकानुनी लाभहानि पुर्याई भ्रष्टाचार गरेको अभियोग छ । तर, उनले आफ्नो प्रतिरक्षा गर्न सक्ने अवस्था नरहेको भन्दै श्रीमती रोशनाले मुलतबीमा राखिपाऊँ भन्दै निवेदन पेस गरेकी हुन् ।
आफ्ना श्रीमान् गम्भीर मानसिक तथा शारीरिक स्वास्थ्य समस्याको कारण होस ठेगानमा नरहेकोले उनको हकमा मुद्दा मुलतबीमा राख्नुपर्ने माग निवेदनमा छ । महत विगत दुई वर्षदेखि फ्रन्टोटेम्पोरल डिमेन्सियाबाट पीडित रहेको निवेदनमा छ ।
यसैका लागि विशेषले मुलुकी कार्यविधि संहिताको दफा १२८ अनुसारको कारबाही सुरु गर्न आदेश गरेको हो । उक्त दफामा होस ठेगानमा नरहेको व्यक्तिको कारबाही सम्बन्धमा व्यवस्था छ । उपदफा (१) मा आफ्नो प्रतिरक्षा गर्न असमर्थ हुने गरी होस ठेगानमा नरहेको अवस्था भए अदालतले इजाजतप्राप्त चिकित्सकद्वारा जाँच गराई उपचार गराउनसमेत आदेश गर्न सक्ने भनिएको छ ।
यसैअनुसार महतको स्वास्थ्य अवस्थाको सम्बन्धमा वीर अस्पतालको मेडिकल बोर्डबाट जाँच गराई प्रतिवेदनसहित पेस गर्ने आदेश भएको हो । उनी साँच्चै प्रतिरक्षा गर्न असमर्थ भएको पुष्टि हुने गरी बोर्डबाट प्रतिवेदन आए उनका हकमा मुद्दा मुलतबी हुनेछ ।
महतसमेत ५५ प्रतिवादीमाथि गत २१ मंसिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले पोखरा क्षेत्रीय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दायर भएको थियो ।