कृषि मन्त्रालयका सहसचिव शरण पाण्डेलाई डिडिसी महाप्रबन्धकको जिम्मेवारी

बिहिबार, १७ बैशाख, २०८३
डिजिटल संस्करण

कृषि तथा पशुपक्षी विकास मन्त्रालका सहसचिव डा. शरण पाण्डेलाई दुग्ध विकास संस्थान (डिडिसी)मा महाप्रबन्धकको जिम्मेवारी दिइएको छ । पाण्डेले बिहीबार दिउँसो डिडिसी पुगेर पदबहालीसमेत गरेका छन् ।

निमित्त महाप्रबन्धकको जिम्मेवारीमा रहेका सञ्जीव झा भने पूर्ववत् आठौँ तहको जिम्मेवारीमा फर्केका छन् । यसअघि केपी ओली नेतृत्वको सरकारले झालाई महाप्रबन्धक नियुक्ति गर्न संस्थानको नवाैँ तहमा कार्यरत राजेन्द्र अधिकारीलाई मन्त्रालय तानेर ‘फाजिल’ बनाएको थियो । पाण्डेलाई महाप्रबन्धकको जिम्मेवारी दिएसँगै अधिकारीसमेत संस्थानको नायब महाप्रबन्धकको जिम्मेवारीमा फर्केका छन् ।

कृषिमन्त्री गीता चौधरीले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै पाण्डेलाई महाप्रबन्धकको जिम्मेवारी दिएकी हुन् । पाण्डे मन्त्रालयको पशुपक्षी तथा मत्स्य विकास महाशाखा प्रमुखसमेत हुन् । डिडिसीले किसानलाई दुध खरिद गरेबापत ५० करोड रुपैयाँ बक्यौता भुक्तानी गर्नुपर्ने दायित्व छ । महाप्रबन्धक पाण्डेले सोही बक्यौता भुक्तानीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए ।

‘किसानको बक्यौता जतिसक्दो छिटो तिर्ने र आउँदो दिनमा बक्यौता नै नराखी नियमित भुक्तानी प्रणाली विकास गर्ने कुरालाई प्राथमिकतामा राखेको छु,’ उनले भने, ‘त्यस्तै, बिक्री केन्द्र विस्तारदेखि उत्पादनमा सुधार गरेर किसान र उपभोक्ताको विश्वास जित्ने अधिकतम प्रयास हुनेछ ।’

सुझावित समाचार