भृकुटीमण्डपमा नेपाल मेडिकल एन्ड ल्याब एक्स्पो सुरु

बिहिबार, १७ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाल मेडिकल एन्ड ल्याब एक्स्पोको नवौँ संस्करण आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ। नेपालमा चिकित्सा तथा प्रयोगशाला क्षेत्रकै सबैभन्दा ठुलो मानिने यो एक्स्पोको उद्घाटन उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले गरे।

एक्स्पोको उद्घाटन गर्दै ढकालले नेपालको स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री बनाउन र बजारसित जोड्न मद्दत गर्ने बताए। ‘यसले नेपालको मेडिकल क्षेत्र, त्यसको उपलब्धता र बजारीकरणमा मद्दत गर्नेछ,’ उनले भने, ‘नेपालको मेडिकल क्षेत्र थप आधुनिक हुनुपर्छ, स्वास्थ्य उपचारमा पनि प्रविधिले सहजता थपेको छ।’

प्रदर्शनीमा चिकित्सा तथा डायग्नोस्टिक क्षेत्रमा विश्वभर विकसित नवीनतम उत्पादन र प्रविधिहरू राखिएको छ। यसले अस्पताल, चिकित्सक, प्याथोलोजिस्ट, वैज्ञानिक, डिलर, वितरक, आयातकर्ता, खुद्रा विक्रेता तथा अन्य खरिदकर्ताहरूलाई जोड्ने विश्वास गरिएको छ।

एक्स्पोमा भारत, नेपाल, बंगलादेश, सिंगापुर, मलेसिया, चीन, जर्मनी र पाकिस्तानलगायत देशका उच्चस्तरीय आपूर्तिकर्ता सहभागी  छन् भने दुई सयभन्दा बढी स्टल राखिएको छ।

यो एक्स्पोले मेडिकल क्षेत्रका उद्योगलाई एउटै मञ्चमा ल्याई सहकार्य, बजार सूचना आदान–प्रदान, नवीन विचार साटासाट तथा व्यवसाय विस्तार गर्न मद्दत गर्ने केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसन (केमसान)का अध्यक्ष भक्त हमालले बताए।

निजी अस्पतालहरूको छाता संगठन एसाेसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)का अध्यक्ष डा. पदम खड्काले एक्स्पोले उपकरणको क्वालिटी र राज्यले किन्ने उपकरणबारे सुझाव दिनुपर्ने बताए।

सुझावित समाचार