एमसिसी परियोजना : धानखोला–लमही सडक स्तरोन्नति सुरु

बिहिबार, १७ बैशाख, २०८३
डिजिटल संस्करण

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुदानअन्तर्गत पूर्व–पश्चिम राजमार्गको ४० किलोमिटर लामो धानखोला–लमही खण्ड स्तरोन्नति सुरु भएको छ । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए)ले बुधबार दाङमा एक औपचारिक कार्यक्रम गर्दै निर्माण सुरु गरेको हो । एमसिए नेपालले गत पुसमा दुई करोड डलरमा शर्मा–कुमार संयुक्त उपक्रमसँग उक्त परियोजनाको ठेक्का सम्झौता गरेको थियो । ठेक्काको अवधि ४२ महिनाको छ । सम्झौता भएको चार महिनामा काम सुरु गरेको ठेकेदार कम्पनीले अबको ३८ महिनामा काम सम्पन्न गर्नुपर्नेछ ।

आयोजनाले सडकको दुवैतर्फ सात मिटर चौडाइ क्यारिजवे र साढे दुई मिटर चौडाइको सोल्जर निर्माण गर्नेछ । समग्रमा सडकको चौडाई १२ मिटर हुनेछ । ४० किलो मिटर सडकलाई ‘फुल डेप्थ रिक्लेमेसन र सुपरपेभ आस्फाल्ट’ प्रविधि प्रयोग गरेर स्तरोन्नति तथा मर्मत गरिनेछ । नेपालमा पहिलोपटक यी दुई प्रविधि प्रयोग गरेर सडक स्तरोन्नति गर्न लागिएको हो । फुल डेप्थ रिक्लेमेसन पुरानो र क्षतिग्रस्त सडक संरचनालाई पुनः प्रयोग गर्ने प्रविधि हो । पुरानो सडक सतह र आधार तहलाई मिलाएर नयाँ बिटुमिन सामग्री थपेर सडक मर्मत गरिन्छ । सुपरपेभ प्रविधि समेत जोड्दा सडकलाई बातावरणमैत्री र दिगो बनाउन सहयोग गर्छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सडकको गुणस्तर र टिकाउपना सुनिश्चित गर्ने एफडीआर तथा सुपरपेभ जस्ता अत्याधुनिक प्रविधि स्वागत योग्य भएको बताए ।

‘यो राजमार्गमा हरेक दिन निर्भर रहेको हाम्रो प्रदेश र यहाँका जनताका लागि यो एउटा महत्वपूर्ण अग्रगामी कदम हो । यो सडक खण्डको स्तरोन्नतिले यात्रालाई थप सुरक्षित र भरपर्दो बनाउने मात्र नभई स्थानीय व्यवसायी, किसान तथा उद्यमीहरूका लागि नयाँ अवसर पनि सिर्जना गर्नेछ,’ उनले भने ।

यस्तै, नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले यो एउटा कोसेढुंगा भएको बतए । ‘यो अमेरिका र नेपालबिचको साझेदारीमा महत्वपूर्ण कोसेढुंगा हो । एमसिसी नेपाल कम्प्याक्टमार्फत हामी ढुवानी लागत घटाउने, सुरक्षा वृद्धि गर्ने तथा समुदायहरूलाई बजार र अवसरहरूसँग जोड्ने उच्च गुणस्तरका दिगो पूर्वाधारमा लगानी गर्दै छौँ,’ उनले भने, ‘यस आयोजनाले नेपालको भविष्यप्रति हाम्रो विश्वास र दिगो आर्थिक वृद्धिका लागि हाम्रो संयुक्त निष्ठालाई प्रतिविम्बित गर्छ ।’

यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले परियोजना समयमै सम्पन्न हुनुपर्ने बताए । यस्तै, एमसिसीका राष्ट्रिय आवासीय उपनिर्देशक सञ्जय पौड्यालले यसले अत्याधुनिक प्रविधि प्रयोग गरेर सबल प्रभावकारी पूर्वाधार निर्माणमा नेपाललाई सघाउने एमसिसीको प्रतिबद्धतालाई प्रतिविम्बित गरेको बताए ।

यस्तै, एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले गुणस्तरसहित परियोजनाको निर्माण सम्पन्न गर्ने बताए । ‘सडक मर्मत आयोजना कार्यान्वयनका सन्दर्भमा यो महत्वपूर्ण कदम हो । एमसिए–नेपाल यो आयोजना प्रभावकारी रूपमा, पारदर्शितापूर्वक तथा उच्चतम गुणस्तरसहित सम्पन्न गर्न प्रतिबद्ध छ,’ उनले बताए ।

एमसिसीको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर लगानीमा तीन सय १५ किमिका लामो ४०० केभीका चार प्रसारणलाइन, ४०० केभीको तीन सबस्टेसन, नारायणगढ–मुग्लिन सडक मर्मतसहित यो सडक पनि स्तरोन्नति गरिँदै छ । सडक मर्मत आयोजना पनि एमसिसी नेपाल कम्प्याक्टको एक अंश हो । 

See More On

सुझावित समाचार