मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले दाङको धानखोला–लमही सडकखण्डमा काम सुरु गरेको छ। जुन एमसिसीले नेपालमा सडक क्षेत्रमा सुरुवात गरेको पहिलो काम हो। अहिलेसम्म एमसिसीले नेपालमा सडकमा काम सुरुवात गरेको छैन।पहिलोपटक बुधबारदेखि दाङको धानखोलादेखि लमहीसम्मको सडक स्तरोन्नतिको काम सुरु गरेको छ । एमसिसीले नेपालमा दुईवटा सडकमा पाइलटिङ प्रोजेक्टका रूपमा काम गरिरहेको छ। एउटा धानखोला–लमही सडक र अर्को मुग्लिङ–नारायणघट सडक । जसमा नेपालमा पहिलोपटक ‘फुल डेप्थ रिक्लेमेसन र सुपरपेभ प्रविधि’बाट सडक कालोपत्रे हुनेछ।
फुल डेप्थ रिक्लेमेसन भनेको पुरानो बिग्रिएको सडकलाई पूरै गहिराइसम्म खोतलेर त्यहाँ सामग्रीलाई पुनः प्रयोग गरी नयाँ बेस बनाइन्छ भने सुपरपेभ प्रविधि भनेको मौसमअनुसार सडक डिजाइन गर्ने कार्य हो । जसले गर्दा सडक मजबुत हुने र सडक बिचमा अग्लो, होचो नहुने अवस्था हुने परियोजना कार्यान्वयन संस्था मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसिए)का कार्यकारी निर्देशक खड्गबहादुर विष्टले बताए। उनका अनुसार यो प्रविधि नेपालमा पहिलोपटक परीक्षण हुन लागेको हो । यो परीक्षण पूरा भएमा अन्यत्र पनि लागू गर्ने गरी काम अगाडि बढ्ने उनको भनाइ छ ।
हाल धानखोला–लमही सडकको ४० किलोमिटर क्षेत्रमा उक्त प्रविधिबाट स्तरवृद्धि हुनेछ। हाल सात मिटर रहेको उक्त सडकलाई स्तरवृद्धि गरेर १२ मिटर बनाइनेछ । जसमा सात मिटर चौडा क्यारिजवे र दुवैतर्फ साढे दुई मिटर चौडा सोल्जर निर्माण हुनेछ । दुई करोड अमेरिकी डलर (नेपाली करिब तीन अर्ब) लागतमा उक्त काम हुनेछ। जुन कामका लागि गएको वर्ष पुस ७ गते सम्झौता भएको थियो । निर्माणको जिम्मा शर्मा कन्स्ट्रक्सन र कुमार निर्माण सेवा प्रालिको संयुक्त उपक्रम शर्मा–कुमार जेभीले पाएको हो । जुन नेपाली कम्पनी हुन् । सम्झौताअनुसार आयोजनाको निर्माण कार्य २४ महिनाभित्र सम्पन्न गर्नुपर्नेछ ।